अस्थायी शिक्षकको परीक्षा स्थगित

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं
शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको निर्देशनपछि यही चैत २३ गतेबाट हुने अस्थायी शिक्षकको परीक्षा स्थगित भएको छ।
प्रमुख विद्यार्थी संगठनको आन्दोलन थेग्न नसकिने आकलन गर्दै मन्त्री पोखरेलले शिक्षक सेवा आयोगलाई परीक्षा स्थगित भएको पत्र पठाउन शिक्षा सचिव मधु रेग्मीलाई निर्देशन दिनुभएको थियो।
लगत्तै सचिव रेग्मीले शुक्रबार बिहान परीक्षा स्थगित गर्न आयोगमा पत्र पठाउनुभएको थियो। कुनै पनि हालतमा परीक्षा स्थगित गर्न नमिल्ने अडान लिनुभएका मन्त्री पोखरेलले तीन विद्यार्थी संगठनले भोलि आइतबारदेखि आम शैक्षिक हड्ताल गर्ने घोषणा गरेपछि बाध्य भएर परीक्षा स्थगित गर्न निर्देशन दिनुभएको हो। शिक्षक सेवा आयोग स्वायत्त निकाय भए पनि मन्त्रीको आदेशपछि परीक्षा स्थगित भएको हो।
मन्त्रालयको पत्र पुगेलगत्तै आयोगले अत्यन्त जरुरी सूचना जारी गर्दै चैत २३ को अस्थायी शिक्षकको परीक्षा स्थगित भएको जनाएको हो। आयोगले सार्वजनिक गरेको सूचनामा खुला, आन्तरिकतर्फको विज्ञापन एकै दिन गर्ने, परीक्षा उसै दिन सञ्चालन गर्ने र नतिजा पनि एकै दिन निकाल्ने गरी चैत २३ को परीक्षा स्थगित भएको जनाएको छ।
आयोगका प्रवक्ता डा. तुल्सी थपलियाले तत्कालका लागि परीक्षा स्थगित भएको जानकारी गराउनुभयो। उहाँले भन्नुभयो– ‘सबै तयारी पूरा भइसकेको थियो अकस्मात स्थगित गर्नुप¥यो। आयोगले यसअघि चौथो पटक परीक्षा स्थगित गरिसकेको छ।’
शिक्षक सेवा आयोग स्वायत्त निकाय भए पनि मन्त्रीको आदेशपछि परीक्षा स्थगित
अचानक परीक्षा स्थगित हुँदा लाखौं रुपियाँ खर्च भएको छ। परीक्षाको तयारीको लागि कति खर्च भयो भन्ने विषयमा प्रवक्ता थपलियाले भन्नुभयो– ‘अहिले तथ्याङ्क छैन।’ परीक्षा स्थगित गर्न भन्दै शिक्षक विद्यार्थी अनशन बस्दै आएका थिए।
हिजो तीन विद्यार्थी संगठनले देशभरका क्याम्पसमा प्रदर्शन गरेका थिए। विद्यार्थी आन्दोलनको कारण सरकारले बाध्य भएर परीक्षा स्थगित गरेको बताउँदै अनेरास्ववियुका सचिव आरसी लामिछानेले अब वार्ता गरेर समस्या समाधान गर्नुपर्ने बताउनुभयो।
उहाँले शिक्षा ऐनको नवौं संशोधन खारेज गर्नुपर्ने बताउनुभयो। आन्दोलनकारी विद्यार्थीको माग सम्बोधन गर्न मन्त्री पोखरेलले शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलको संयोजकत्वमा समिति गठन गर्नुभएको थियो। समितिमा मन्त्रालयका प्रवक्ता डा. हरि लम्साल र विभागका निर्देशक केशव दाहाल रहनुभएको थियो। समितिले आन्दोलनकारी विद्यार्थीसँग वार्ता गर्न नपाउँदै परीक्षा स्थगित भएको हो।
परीक्षा स्थगित भएपछि सबै अनशनको कार्यक्रम स्थगित भएको छ। परीक्षामा कुल २३ हजार २ सय ८६ अस्थायी शिक्षक परीक्षामा सहभागी हुने क्रममा थिए। शिक्षा ऐनको आठौं संशोधनले गरेको व्यवस्थाअनुसार १५ हजार ६ सय ८९ जना शिक्षकले परीक्षा रोजेकोमा नवौं संशोधनले उक्त कोटा बढाएपछि थप ७ हजार ५ सय ९७ शिक्षकले परीक्षा दिन आवेदन गरेका थिए।