प्रधानमन्त्री ओलीको भारत भ्रमण तालिका सार्वजनिक



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत २३ गतेबाट भारत भ्रमण गर्ने औपचारिक जानकारी परराष्ट्र मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको छ ।
यसअघि प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने तथ्य  दिल्लीबाट सार्वजनिक भएपनि नेपालको तर्फबाट औपचारिक जानकारी सार्वजनिक गरिएको थिएन । शुक्रबार नेपालको परराष्ट्र मन्त्रालयले बिज्ञप्ति जारी गर्दै भ्रमणको औपचारिक जानकारी गराएको हो । नेपाल सरकारले औपचारिक भ्रमण तालिका सार्वजनिक नहुँदा मानिसहरु भ्रमण हुने कि नहुने भन्ने अन्योलमा थिए ।

परराष्ट्र मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको बिज्ञप्तिमा  प्रम ओली चैत्र २३ गतेदेखि तीन दिने भारतको राजकीय भ्रमणमा जाने र २५ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने छन् । तर, दुई प्रधानमन्त्रीबीच हुने भेटको समय सार्वजनिक गरिएको छैन । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति रामनाथ कोविन्द लगायतसँग भेटवार्ता गर्नेछन् । त्यस्तै भारतको प्रख्यात कृषि तथा प्रविधि विश्व विद्यालयको भ्रमण गर्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्