चिकित्सकको हवाई दुर्घटनामा मृत्यु

0
Shares

आफन्त, सहकर्मी र बिरामी पीडामा पीडामाशोकमा

भगवती तिमल्सिना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत फागुन २८ गते यूएस बंगलाको विमान दुर्घटना हुँदा नेपालले होनहार व्यक्तित्वहरूलाई गुमाएको छ। त्यसमा ट्युमर क्यान्सरका विषयमा विशेषज्ञता हासिल गरी अनवरतरूपमा क्यान्सर उपचारमा न्युरो सर्जनका रूपमा सर्जरी गर्दै आउनुभएका डा. बालकृष्ण थापाका साथमा २२ जना नेपालीले ज्यान गुमाएका छन्। जसमा १२ जना त भविष्यका चिकित्सक थिए।

७६ जना यात्रुका साथ ४ जना चालक दलका सदस्य रहेकामा चालक दलसहित ५१ जनाको निधन हुन पुग्यो। जसमा १२ जना एमबीबीएस अध्ययन पूरा गरी बंगलादेशबाट नेपाल फर्कंदै गरेका नवजोशिला भविष्यका उदयमान युवाहरूको पनि डाक्टर लेख्न नपाउँदै निधन भयो।

काभ्रेको माटोमा वि.सं. २०२४ माघ १४ गते कुशादेवीमा गम्भीरध्वज थापा र सरस्वती थापाको कोखबाट जन्मिएर, चिकित्सा पेशामा समर्पित रहेर, देश र जनताका लागि आफ्नो विशिष्ट सेवामूलक कार्यहरू गर्दै आउनुभएका काभ्रेका गौरवशाली व्यक्तित्व न्युरो सर्जन हुनुहुन्थ्यो। न्युरो सर्जन डाक्टर बालकृष्ण काभ्रे जिल्लाको कुशादेवी गाविस–३ थापागाउँमा जन्मिनुभएको थियो।
बाल्यकालदेखि नै निकै चम्किला बालकृष्ण जीवन रहेसम्म अनवरतरूपमा देश र जनताको सेवामा समर्पित भइरहनुभयो।

उहाँको परिकल्पना देशमा बढ्दै गएको क्यान्सरका बिरामी र उपचारमा आएको अभावलाई पूर्ति गर्न नयाँ योजना र लगनशीलता हुनुपर्छ भन्ने थियो। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र चितवन अस्पतालमा न्युरो सर्जनका रूपमा क्रियाशील डा. थापा क्यान्सर अस्पताल स्थापनाका परिकल्पनाकार पनि हुनुहुन्थ्यो। यतिबेला उहाँको सम्पर्कमा आएका बिरामीहरू निकै चिन्तित देखिन्छन् अब फेरि त्यस्तै सेवा कसले देला भनेर। तर, अस्पताल भनेको निजी घर नभएर राज्यको दायित्वभित्र पनि पर्ने हुनाले अस्पताल परिवार भने डा. थापा नहुँदाका अपूरणीय क्षति पूर्णरूपमा पूर्ति नभए पनि हालको बाधा अड्काउ फुकाउनै पर्छ।

मन बाँधेर काममा निस्कनुपर्छ भन्ने अठोका साथ उहाँको सपना साकार बनाउँदै सेवालाई निरन्तरता दिनमा तल्लीन भएको अस्पतालका निर्देशक डा. विजयचन्द्र आचार्य बताउनुहुन्छ।

उहाँ भन्नुहुन्छ– ‘न्युरो सर्जन थप्ने योजनामा छौं। विगतको टिमवर्कमा २ जना हुनुहुन्थ्यो, उहाँ नहुँदा शल्यक्रियाका क्षेत्रमा एउटा पाटो नै अभाव भएको छ। सेवालाई निरन्तरता दिन दुई जनाको टिम कसरी अगाडि लैजाने भन्ने विषयमा छौं। बिरामी फर्किनुपरेको अवस्था छैन। उहाँ नहुँदा हाम्रामाझ निकै अनुभवी र जुझारु व्यक्ति गुमाउनुपर्दा अपूरणीय क्षेति भएकै छ। यो नेपालको चिकित्सा क्षेत्रमै ठूलो अभाव खड्किएको अवस्था हो। तर, पनि उहाँको अभावमा बिरामीलाई कुनै पनि समस्या नहोस् भनेर हामीले हरेक पक्षलाई चुस्त र दुरुस्त बनाउनका लागि नयाँ शल्य चिकित्सको आवश्यकता महसुस गरी अर्को चिकित्सक राख्ने विषयमा गम्भीरतापूर्वक सोचेर प्रक्रिया अघि बढाइसकेका छौं। उहाँको अभावमा नेपाल मात्र हैन एसियन मुलुक नै शोकमा डुबेको छ।

यतिबेला हामी शोकलाई शक्तिमा बदलेर पल–पल मृत्युसँग लडिरहेका बिरामीलाई छिटोभन्दा छिटो र छरितो तथा विश्वसनीय सेवा दिने विषयमा गम्भीर भएर लागेका छौं। यो हामी सबै चिकित्सकको दायित्व हो। बिरामी भनेका भगवान् जस्तै हुन् उहाँहरूको आवश्यकता र समस्याको सम्बोधन गर्नु हामी चिकित्सकको धर्म हो।’

डा. थापा न्युरो सर्जनका रूपमा मात्र नभई, सबैका प्रिय समाजका सेवक तथा लेखकका रूपमा समेत परिचित हुनुहुन्थ्यो। देश र जनताप्रतिको जिम्मेवारी बोध गर्ने डा. थापा चिन्तन मनन बोकेर स्वास्थ्य क्षेत्रमा लाग्नुभएकै कारण उहाँ अध्ययनशील र समाजप्रति जवाफदेही बन्दै आउनुभएको थियो। उहाँका साहित्यिक विधामा प्रकाशित पुस्तकहरूमा १) डाक्टरी कविता (कविता संग्रह–२०६१), २) डाक्टरको कविता (कविता संग्रह–२०६९), ३) न्युरो अको सर्जरी इन नेपाल (इ.सं. २०१३) र ४) चिरफार (निबन्ध संग्रह–२०७०) छन्।