भ्रममुक्त हुन नचाहेको कांग्रेस



योगेश ओली

हामी कहिलेकाहीँ सत्य सुन्न नै चाहन्नौं। किनभने हामीलाई भ्रमको जालोबाट मुक्त हुनु नै छैन। आज ठ्याक्कै यही भएको छ कांग्रेसको नियति। तमाम आफ्ना नलायकीपन, अदूरदर्शिता अनि असफलताका बाबजुद पनि यसरी कानमा तेल हालेर सुत्या छ, मानौं अझै केही भएकै छैन। ऊ, म र मेरोको सानो घेराबन्दीभन्दा माथि उठ्न नै चाहँदैन। नेतृत्व भनेको त्यो हो जसले पाउनुपर्ने भन्दा थोरै जश लिएर अपजश अनि असफलता जति आफ्नो जिम्मा लिन्छ। तर कांग्रेसको हकमा भन्ने हो भने ठ्याक्कै उल्टो देखिन्छ। आफ्ना अक्षमताहरूको निर्मम व्याख्या नगरेर एक–अर्काप्रति दोषारोपण गर्दै भ्रममा चलिरहेको छ। निदाएको अभिनय गर्नेलाई अब कसरी उठाउने ?

सच्चा कांग्रेसजन द्विविधामा देखिन्छन्। नेपाली कांग्रेस उसको ऐतिहासिक अनि राजनीतिक विरासतको व्याख्यामा नजाने हो भने आज कहाँ छ ? उसको पोजिसन सम्बन्धमा प्रश्न गर्दै गर्दा चुनावी अंकगणित वा हार र पराजयको कुरा मात्र किमार्थ होइन, परन्तु समष्टिगतमै आज किन यति सारो कमजोर देखिँदै छ ? माथि भनिएजस्तै वास्तविकतालाई ग्रहण गर्न नसक्नु वा नचाहनु। मुख्य कारक यही हो। ऊ भ्रमसँग यसरी अभ्यस्त भइसकेको छ, अब उसलाई त्यही भुलभुलैया नै अभिन्न दैनिकी भएको छ। उसका अवयवहरू नीति, विचार, नेतृत्व, कार्यशैली, संरचना सबै भ्रमकै दलदलमा चुर्लुम्म यसरी डुबेका छन्, तिनलाई त्यही दलदलको हिलो छ्यापेर एक–अर्कामा उत्कृष्टता हासिल गर्नु छ। सत्य यही हो, जसबाट ऊ मुक्त हुने संकेत देखाउँदैन। अनि आखिर कहिलेसम्म राम नाम जपेर अनि इतिहासको ब्याजको भरले थेग्ला र कांग्रेसलाई ?

त्यसैले आज मुलुक प्रजातन्त्रको उच्चतम भनिएको गणतान्त्रिक राजनीतिक परिपाटी स्थापित गरेर विकास अनि प्रगतिको नयाँ दिशातर्फ अघि बढ्दै गर्दा कांग्रेस जसको जन्म नै प्रजातन्त्रका लागि भयो ऊचाहिँ इतिहासकै कमजोर अवस्थामा किन छ भनेर समीक्षा गर्न ढिला गर्नुहुँदैन। कुनै पनि राजनीतिक दल विचारले चल्छ।

वैचारिक स्पष्टता उसको पहिलो सर्त हो भने नेतृत्व दोस्रो। कुनै पनि कुशल अनि सक्षम नेतृत्वले दललाई वैचारिक श्रेष्ठता कायम गर्दै सफलतातिर लग्छ भने नेतृत्व अदूरदर्शी, अबुझ अनि नालायक भइदियो भने सम्पूर्ण दल नै विसर्जन उन्मुख बनिदिन्छ। त्यसैले नेपाली कांग्रेसले पनि अब आफूलाई एकपटक पुनः मूल्यांकन गर्नुपर्छ। उसले आफूलाई संरचनात्मकरूपमा नै परिवर्तन गर्न अनि आफ्ना वैचारिक दृष्टिकोणलाई पुनव्र्यायाख्या गर्न तयार हुनुपर्छ। राजनीतिक दल चलायमान हुन्छ। ऊ विचारको माध्यमबाट जीवन्त रहेको हुन्छ। समय, काल, परिस्थितिअनुरूप विचार तदनुरूप परिवर्तन भएन भने त्यो राजनीतिक दल इतिहास त बन्ला तर भविस्य बनेको हुदैन।

यस अर्थमा आफ्नो स्थापनाकालदेखि कांग्रेसले परिवर्तित समय अनि समाजको नेतृत्व गरेको हो। राजनीतिक स्वतन्त्रता अनि पूर्ण प्रजातन्त्रका लागि लडेको पार्टी राजतन्त्रसँग सहकार्य गर्दै संवैधानिक राजतन्त्र अनि बहुदलीय व्यवस्थालाई स्वीकारेर विधानतः अघि बढ्नु तत्कालीन भूराजनीतिक अवस्था अनि विश्व राजनीतिक अवस्थाको आँकलन थियो भने दुई कदम अघि बढेर एक पाइला पछि सर्दै अघि बढ्नु उसको राजनीतिक सुजबुझ।

त्यसपछिका अनेक आरोहअवरोहबीच ०६२/६३ आइपुग्दा आफ्नो विधानबाट संवैधानिक राजतन्त्र फालेर विभिन्न दलबीच सहकार्य गर्दै गणतान्त्रिक व्यवस्था स्थापनार्थ नेतृत्वदायी भूमिका खेल्नु उसै चलायमान वैचारिक स्पष्टता अनि दूरदर्शी नेतृत्वको उपज थियो। यसमा दुई मत नै भएन। त्यसैले अब फेरि एकपटक कांग्रेसले आफूलाई समयानुकूल पुनः व्यख्या गर्नुपर्छ। आजको अवस्था भनेको देशले संविधानसभाबाट संविधान प्राप्त गरेर संघीय संरचनामा अघि बढेको अवस्था हो। धेरै हदसम्म अब संक्रमणकालीन अवस्था पनि सकिएको परिप्रेक्ष्यमा कांग्रेसले पनि उसै अनुरूप स्वयंलाई ढालेर नयाँ उत्साहको सञ्चार गराउन सक्नुपर्छ। हिजोका दिनमा व्यवस्था परिवर्तनको संवाहक हुँ भनेको कांग्रेस आज विकास अनि समृद्धिको बाहक बन्ने कि नबन्ने ? धेरै मानेमा उसको आगामी भविष्य त्यसैमा निर्भर रहनेछ।

कांग्रेसमा यस्तो नेतृत्व होस्, जसले कांग्रेसको नव भविष्य कोर्ने ल्याकत राखोस्। कांग्रेस शुद्धीकरण गर्दै निर्दिष्ट विकास अनि समृद्धिको राष्ट्रिय अभिभारा बोक्न सकोस्। अनि मात्र कांग्रेस अस्तित्वको लडाइँमा संघर्ष गर्न सक्ने हुनेछ। यसका लागि चाँडोभन्दा चाँडो सत्य सुनेर, सत्यलाई मनन गर्दै, स्वीकार्दै भ्रमबाट मुक्त हुनुपर्छ।

हामीले के बुझ्नुपर्छ भने, व्यवस्था परिवर्तन विकास अनि परिवर्तनको साधन मात्रै हुन सक्छ, आफैंमा साध्य हुँदैन। त्यसैले परिवर्तित व्यवस्थाभित्रका राजनीतिक दल, राजनीतिककर्मी अनि नागरिकचाहिँ तदनुरूप आफूलाई ढाल्दै जान्छौ कि जाँदैनौ ? विकास अनि समृद्धि भनेको भौतिक संरचनाको निर्माण मात्रै भन्ने साधारणरूपमा लिनुहुँदैन। विकासको सूचकभित्र भौतिक संरचनाको आधारशिला सँगसँगै परिपक्व राजनीतिक दल, जीवनस्तरमा परिवर्तन, शिक्षा–स्वास्थ्यमा सबैको पहुँच, चेतनाको विकास, मानवअधिकारको सुनिश्चितता, रोजगारीजस्ता अरु विभिन्न आयाम पनि परेको हुन्छ। त्यसैले अब समृद्ध राष्ट्रको परिकल्पना नगरी न कुनै राजनीतिक दल सफल हुन सक्छन्, न राजनीतिक दल सफल नभई व्यवस्था सफल हुन सक्छ।

नेपाली कांग्रेसले पनि अब अस्तित्वको लडाइँ जारी राख्ने हो भने, अब समृद्धिको अवधारणालाई मूल लक्ष्यका रूपमा राख्नुपर्छ। आज निर्वाचनमा जुन हविगत कांग्रेसले भोग्नुपर्यो, यसको कारण यो पनि एउटा होे। उसले आफ्नो विरासतलाई भोलिको लक्ष्यसँग जोड्न नै सकेन। ऊ आफ्नै भ्रममा यसरी भ्रमित बन्यो कि उसले वास्तविकता ग्रहण नै गरेन। अर्को मुख्य कुरा, नेपाली कांग्रेसले संरचनात्मकरूपमा नै आफूलाई परिवर्तन गर्नुपर्छ। आज संघीय प्रणालीमा मुलुक गइसकेको अवस्थामा आफूलाई चाहिँ पुरानै ढाँचामा राखेर कांग्रेस कहीँ पुग्नेवाला छैन। कांग्रेस आज धेरै हदसम्म भन्ने हो भने चुनावमा हराइएको भन्दा पनि हारेको पनि हो।

हार्नुमा आफ्नो कमी–कमजोरी ज्यादा हुन्छ भने हराइनुमा विपक्षी बढी सबल अनि सक्षम साबित हुन्छ। त्यस अर्थमा कांग्रेस हारेको पनि हो। आन्तरिकरूपमा नै ऊ यति कमजोर थियो कि उसले आफ्नो नेतृत्वमा बनेको संविधानको जश लिन पनि जानेन। कांग्रेसका पछिल्ला केही निर्णय अनि कदम यति प्रत्युत्पादक बने, त्यसले समस्त नतिजालाई नै असर पार्यो। गुट अनि उपगुट टिकट वितरणदेखि समानुपातिक कोटासम्म यसरी हाबी भएको छ कि आज कांग्रेसभित्र कांग्रेस खोज्नुपरेको छ। त्यसैले अब कांग्रेस ‘टप टु बटम’ होइन ‘बटम टु टप’ नै परिवर्तन हुनुपर्छ। घरका फर्निचर, झ्यालढोका अनि साधारण लोलोपोतो मात्रैले अब मूच्र्छाएको कांग्रेसलाई दौडाउन सकिँदैन। अब संरचनात्मकरूपमा नै परिवर्तन नगरी कांग्रेसले खुट्टा टेक्न सक्ने अवस्था नै छैन।

भन्नमा मास बेस पार्टी भनियो तर उही सीमित नेताले चुनेका कार्यकर्तामाझबाट नेतृत्व चयन गर्ने जुन परिपाटी छ यसको अन्त्य गरिनुपर्छ। यसो नहुन्जेल कांग्रेस कुनै एक जिम्मावालको खेतीजस्तै रहिरहनेछ। आज कांग्रेसको यो अवस्था हुँदा पनि नेतृत्वले जुन अनैतिकता प्रस्तुत गर्दै छ, यो उसैको परिणति हो भन्दा अत्युक्ति हुँदैन। लज्जास्पद पराजयपछि जुन कमसेकम नैतिकता प्रस्तुत गर्नुपर्ने पर्ने हो त्यो पनि नगरेर पार्टी सभापतिले जुन पदीय लोलुपता संसदीय दलको नेतामा चयन भएर देखाए, यसले कांग्रेसमा एकातिर नैतिकता अनि चिन्तनको खडेरी उजागर गरेको छ भने अर्कोतिर परिवर्तनको वकालत गर्ने नयाँ पुस्ताको लाचारी पनि।

त्यसैले अब कुनै गुट वा खेमाको पैरवी गरेर हैन, बृहत्तर कांग्रेसको हितका खातिर यथाशीघ्र महाधिवेशन बोलाई त्यहीँबाट अन्तिम धक्का दिनुपर्छ कांग्रेसका भविष्य हौं भन्ने नयाँ पुस्ताले। महाधिवेशनले कांग्रेसको सोच, कार्यशैली, संरचनामा परिवर्तन गर्दै नयाँ नेतृत्व चयन गर्नुपर्छ, नयाँ नेतृत्व भन्दै गर्दा बहादुरको ठाउँमा कुनै श्रीमान् वा विरासती कांग्रेसलाई नेतृत्वमा ल्याएर होइन। कांग्रेसमा यस्तो नेतृत्व होस्, जसले कांग्रेसको नव भविष्य कोर्ने ल्याकत राखोस्। कांग्रेस शुद्धीकरण गर्दै निर्दिष्ट विकास अनि समृद्धिको राष्ट्रिय अभिभारा बोक्न सकोस्। अनि मात्र कांग्रेस अस्तित्वको लडाइँमा संघर्ष गर्न सक्ने हुनेछ। यसका लागि चाँडोभन्दा चाँडो सत्य सुनेर, सत्यलाई मनन गर्दै, स्वीकार्दै भ्रमबाट मुक्त हुनुपर्छ।

 

प्रतिक्रिया दिनुहोस्