सातदोबाटो–चापागाउँ सडकको काम अघि बढ्यो

0
Shares

नेपाल समाचारपत्र
ललितपुर
सातदोबाटोदेखि खुमलटारसम्मको झन्डै एक किलोमिटर सडकखण्ड वैशाख १५ गतेभित्र कालोपत्रे हुने भएको छ। ठेक्का सम्झौता भएको चार वर्ष बित्दासमेत सडकखण्डको काममा प्रगति नहुँदा स्थानीय जनताले सास्ती खेप्दै आएका थिए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौंको लाजिम्पाटबाट ललितपुरको खुमलटार हाइटमा बसाइँ सरेपछि स्थानीयवासीको भावना बुझ्दै सडक तत्काल निर्माण गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।

ठेकेदारले भने विभिन्न बहाना बनाएर आलटाल गर्दै आएकोमा उक्त क्षेत्रका स्थानीय व्यक्तिले अध्यक्ष प्रचण्डलाई सडक तत्काल कालोपत्रे गर्न पहल गरिदिन अनुरोध गरेका थिए।
अध्यक्ष प्रचण्डले सुनाकोठी, चापागाउँलगायत ललितपुर जिल्लाका थुप्रै गाविस जोड्ने उक्त सडकखण्डको काम सम्झौताअनुरुप अघि नबढ्दा स्थानीय जनताले सास्ती खेप्नु परेको र धुलोका कारण स्वास्थ्य समस्यासमेत देखिएको भन्दै तत्काल काम सम्पन्न गर्न मुख्य सचिव, यातायात सचिव र विभागका निर्देशकसँग छलफल गर्नुभएको थियो।

सोही छलफलका आधारमा ठेकेदारले कालोपत्रे कार्य अघि बढाएको थियो। कालोपत्रे कार्य अघि बढाए पनि ढिलासुस्ती भएपछि प्रचण्ड सचिवालयको पहलमा स्थानीय प्रशासन, स्थानयवासी र ठेकेदारबीच चैत १५ गतेभित्र शुरूको खण्डको ५ सय मिटर कालोपत्रे गर्ने र बाँकी सडकखण्ड वैशाख १५ सम्म कालोपत्रे सम्पन्न गर्ने सहमति भएको छ।

शुरूको ५ सय मिटरपछि निकै ठूलो मात्रामा फोहोर फालिएका कारण तत्काल काम अघि बढ्न नसक्ने देखिएपछि प्रचण्ड सचिवालयले फोहोर व्यवस्थापनका लागि समेत महानगरपालिकासँग पहल शुरू गरेको छ।

उक्त फोहोरको व्यवस्थापन भएपछि बाँकी खण्डसमेत कालोपत्रे गर्न शुरू गरिने र सबै काम वैशाख १५ भित्र गर्न ठेकेदार पक्ष सहमत भएको छ।