वित्तीय अनुशासनमा सचेत बन्दै ग्रामीण क्षेत्रका सहकारी

0
Shares

हेमन्त जोशी, दोलखा

ग्रामीण क्षेत्रका सहकारी वित्तीय अनुशासनका विषयमा सचेत बन्दै गएका छन्। सहकारीका मूल्य, मान्यता र सिद्धान्तको पालना गर्दै विपन्न सदस्यको सशक्तिकरणमा उनीहरूको भूमिका प्रभावकारी देखिएको छ।
जिल्लामा सहकारीको ब्रान्डिङ गर्ने तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थासँग आवद्ध हुने क्रम बढ्दो छ। जसबाट संस्थाको वार्षिक लेखा परीक्षणमा पनि पारदर्शिता कायम गर्न मद्दत पुग्छ। संस्थाको वित्तीय स्वस्थता कायम राख्न अन्तर्राष्ट्रिय मापदण्ड ‘एक्सेस र प्रोवेसन’सँग आवद्ध हुन सहकारीबीच होडबाजी जस्तै देखिन्छ।

एक्सेसमा जाने सहकारीले विश्वव्यापी रूपमा मान्यता पाएका सहकारीका नीति र सिद्धान्तको अनुसरण गर्नुपर्छ। संस्थाको वित्तीय व्यवस्थापन, सदस्यहरूको व्यवस्थापन, संस्थाको आन्तरिक सुशासन र एकरूपतालगायतका विषय एक्सेसमा समेटिएका कारण वित्तीय अनुशासन कायम हुँदै गएको जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईले बताउनुभयो। विश्व ऋण परिषद्ले प्रतिपादन गरेको ‘एक्सेस र प्रोवेशन’को अवधारणाभित्र रहेर कार्य सम्पादन गर्दा सहकारीलाई वित्तीय दुर्घटनाबाट बचाउँछ भन्ने सकारात्मक सोच सहकारीकर्मीमा देखिँदै गएको छ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले एसियाली ऋण महासंघ (अक्कु)को सहकार्यमा देशका बचत तथा ऋण (साकोस)हरूको ब्रान्ड गर्दै आएको छ। त्यसमा जनकल्याण, मिलिजुली र जनसचेतनले ले एक्सेस ब्रान्ड पाएका छन्। जनसचेतन सहकारीले सिल्भर ब्रान्डसमेत पाएको छ।

सहकारी अभियानमार्फत् समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनस्तर उकास्न सहकारी क्षेत्रको प्रभावकारिता देखिँदै गएको हो। जिल्लामा रहेका सहकारीले वित्तीय व्यवस्थापन, आन्तरिक व्यावसायिकरण, संगठित सदस्यको सीप विकास र दक्षता कार्यक्रम, स्थानीय उत्पादनको बजारीकरणजस्ता विषयमा सक्रिय भूमिका देखाउन थालेका छन्।

ग्रामीण गरिबी घटाउँदै सहकारी
जिल्लामा क्रियाशील सहकारीले आफ्ना सदस्यलाई स्वरोजगार कार्यक्रमका लागि ऋण लगानी गर्र्दै गरिबी घटाउन सहयोगी भूमिका निर्वाह गर्दै आएका छन्। चौलागाईका अनुसार सदस्यको जीवनस्तर सुधार गर्न पनि सहकारी क्षेत्रले ठूलो टेवा पुर्याउँदै आएको छ। सदस्यको आवश्यकताअनुसार उत्पादनमुलक, व्यवसाय, सामाजिकलगायतका क्षेत्रमा ऋण प्रवाह गर्ने गरेको चौलागार्इंको भनाइ छ। एक्सेस ब्रान्डमा गएपछि संस्थाको गुणस्तरमा समेत वृद्वि भएको उहाँको भनाइ छ।

दोलखाका तीनवटा एक्सेस ब्रान्डमा, ५ वटा प्रोवेसन कार्यक्रममा र २७ वटा जोखिममा आधारित साकोस सुपरीवेक्षण कार्यक्रममा सहभागी भएका छन्। जिल्लाको मैनापोखरीमा रहेको जनसचेतन बचत तथा ऋण सहकारीको पछिल्लो तथ्याङक अनुसार सहकारीको सदस्य भएपछि १० प्रतिशत गरिबी घटेको देखिएको छ। संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठका अनुसार दैनिक १ हजारभन्दा कम आय भएका सर्वसाधारण सहकारीमा लागेर व्यवसाय गरेपश्चात ४२ दशमलव ४ प्रतिशतबाट ३२ प्रतिशतमा सीमित हुन पुगेको छ। त्यसैगरी १० हजारसम्म आय हुनेको संख्या ४३ दशमलव २ प्रतिशतबाट बढेर ५२ दशमलव ८ प्रतिशत पुगेको छ भने २० हजार भन्दा बढी कमाउने सदस्यको संख्या ६ दशमलव ४ प्रतिशतबाट बढेर ८ प्रतिशत पुगेको छ। सदस्यको सम्मृद्विका लागि लगानीमा प्राथमिकता दिँदै आएको जनसचेतनका अध्यक्ष भीमप्रसाद दाहालको भनाइ छ। ‘सदस्यको आर्थिक हैसियत बढेको छ। निर्वाहमुखी जीवनबाट व्यावसायिक बन्न सफल भएका छन्।’उहाँले भन्नुभयो।

व्यवसाय नभएका ६१ दशमलव ५४ प्रतिशत सर्वसाधारण सहकारीमा लागेपछि झण्डै आधाभन्दा बढी सदस्य उद्यमशील भएका छन्। सहकारीसँग आवद्ध भएपछि व्यवसाय नभएका व्यक्तिको संख्या ६१ दशमलव ५४ प्रतिशतबाट घटेर ३७ दशलमव ६० प्रतिशत पुगेको छ भने व्यवसाय भएका व्यक्तिको संख्या ३८ दशमलव ६४ प्रतिशत बाट बढेर ६२ दशमलव ४० प्रतिशत पुगेको संस्थाको तथ्यांकले देखाउँछ।
संस्थाले वित्तीय अनुशासन कायम गर्न भन्दै आफ्नै नीति र कार्यविधिसमेत बनाएको छ। अध्यक्ष दाहालका अनुसार संस्थाले ३६ वटा नीति र २६ वटा कार्यविधि बनाएर काम गरिरहेको छ। चरिकोटमा रहेको हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यले उत्पादन गरेको सामान बिक्रीका लागि सहजिकरण गर्दै आएको छ। ‘हामी संदस्यलाई उत्पादनमैत्री बनाउन पहल गरिरहेका छौं। उहाँहरूको उत्पादन बिक्री गर्न हामी बजार सहजिकरण गर्छाै।’संस्थाका व्यवस्थापक दीपक बस्नेतले भन्नुभयो। संस्थाले आफ्ना सदस्यलाई सीपमुलक तालिम दिनुका साथै बिक्रीवितरणमा समेत सघाउँदै आएको छ।

व्यावसायिकताका लागि संस्थाले १५ दिने, एक महिने, तीन महिनेलगायतका सीपमूलक तालिम पनि सञ्चालन गर्दै आएको बस्नेतले बताउनुभयो।

एकीकृत फ्रेन्डसिप बचत तथा ऋण सहकारी संस्था जिरीका करिब ६० प्रतिशत सदस्य उत्पादन क्षेत्रमा संलग्न छन्। संस्थाका अध्यक्ष नरबहादुर जिरेलले अधिकांश सदस्य कृषि उपज तथा पशुपालनतर्फ संलग्न रहेको बताउनुभयो। अधिकांश सदस्यले किबी, आलु, चिज, दुग्धजन्य वस्तुलगायत उत्पादन गर्दै आएका छन्। मिलिजुली बचत तथा ऋण सहकारी संस्था चरिकोटका अध्यक्ष नारायणबहादुर श्रेष्ठले संस्था बलियो बनाउनका लागि संस्थागत पुँजी बढाउन र भाखा नाघेको ऋण घटाउन सक्रिय रहेको बताउनुभयो।

दोलखामा ५ सय २३ वटा सहकारी संस्थामा १ लाख ८६ हजार सदश्य आवद्व भएका छन्। जिल्ला बचत तथा ऋण सहकारी संघ दोलखाका अध्यक्ष जीवसराज खड्काका अनुसार दोलखामा स्थापना भएका सहकारीले ५ अर्ब रुपियाँ बचत गरी ५ अर्ब ३० करोड रुपियाँ लगानी गरेका छन्। जिल्लाका संस्थाको शेयर पुँजी ७० करोड रहेको छ।