यमनविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा


नेपाल समाचारपत्र
काठमाडौं
एएफसी एसियन कप छनोट चरणअन्तर्गत यमनविरुद्धको खेलका लागि २० सदस्यीय नेपाली राष्ट्रिय टोलीको मंगलबार घोषणा भएको छ।
टोलीका जापानी प्रशिक्षक ग्योटोकी कोजुले नेपाली टोलीका लागि खेलाडी छनोट गरेका हुन्। नेपालको यो छनोट चरणमा अन्तिम खेल हो। समूह चरणमा १ अंक जोडेको नेपालले मार्च २७ मा अवे मैदान यमनमा खेल्नेछ। नेपालले घरेलु मैदानमा खेलेको खेलमा यमनसँग बराबरी खेलेको थियो।

नेपालको अभ्यास पनि शुरू भइसकेको एन्फाले विज्ञप्तिमार्फत् जनाएको छ। विभिन्न जिल्लामा लगातार फुटबल प्रतियोगिता भइरहेको हुँदा नेपालले अभ्यास शुरू गर्न ढिलो भएको हो। सोमबारदेखि नै अभ्यास शुरू भएको छ। नेपालको टोलीमा भरत खवास र विक्रम लामा टोलीमा अटाउन सकेनन्। थ्री स्टारका विक्रम चोटका कारण विश्राममा छन् भने भरत दोहोरो पहेंलो कार्डको कारण टोलीबाहिर रहन बाध्य भएका छन्। त्यस्तै रवीन श्रेष्ठ, विमल बस्नेत र कमल श्रेष्ठले पनि टोलीमा स्थान बनाउन सकेनन्।

नेपाली टोलीमा प्रायजसो पहिलेकै खेलमा सहभागी खेलाडीहरूकै वर्चश्व रहेको छ। जसमा नवयुग श्रेष्ठ, विराज महर्जन, विमल घर्तीमगर, जर्ज प्रिन्स कार्की, विशाल राई, हेमन गुरुङ, हेमन्त थापामगर, सुजल श्रेष्ठ, सुनील बल, अन्जन विष्ट, सुमन लामा, रोहित चन्द, रजिन धिमाल, देवेन्द्र तामाङ, आदित्य चौधरी, अनन्त तामाङ र दिनेश राजवंशी रहेका छन्। त्यस्तै गोलकिपरमा किरण चेम्जोङ, एलेन न्यौपाने र विकेश कुथुले स्थान बनाउँदा विशाल श्रेष्ठले टोलीमा स्थान लिन सकेनन्।