थापाको जेल मोह


सशस्त्र द्वन्द्वकालमा जेल जीवन नभोगेर हो क्यार अहिलेका गृहमन्त्री थापा उपत्यकाका चर्चित जेलको अवस्था नियाल्न थाल्या छन्। जेल र कैदीबन्दीको अवस्था नियाल्न पुगेका भनिएका उनले सामान्य कैदी बन्दी होइन, चर्चितहरूसँग भेटघाट गरेका छन्। मंगलबार उनले केन्द्रीय कारागार पुगेर चर्चित अपराधी चाल्स शोभराज र पूर्वमाओवादी नेता पुष्कर गौतमसँग भेटघाट गरे।

थापा–शोभराज आमने सामने देखिए पनि कुराकानी गरेनन्, तर गौतमसँग थापाले केही बेर भलाकुसारी गरेको धरहराले देख्यो। गौतम ओखलढुंगाका उज्वनकुमार श्रेष्ठको हत्या अभियोगमा विगत ४ वर्षदेखि जेलमा छन्। मन्त्री थापाले मंगलबार डिल्लीबजार जेलमा रहेका पूर्वसांसद बालकृष्ण ढुंगेलसँग पनि भेटवार्ता गरेका छन्।

आफूलगायत १५⁄१६ जना राजनीतिक प्रकृतिका बन्दी डिल्लीबजार जेलमा रहेको बताउँदै ढुंगेलले रिहाइको पहल गर्न आग्रह गरेको देखियो। त्यति मात्र कहाँ हो र, उनले त एमाले–माओवादी केन्द्रबीचको एकतालाई छिटो टुंगोमा पुर्याउन पनि सुझाव दिन भ्याए। प्रतिउत्तरमा थापाले एकता छिट्टै हुने बताए।

जेलको अवस्था अवलोकन गर्न गएका थापाले सामान्य कैदीबन्दीको समस्या कहिले सम्बोधन गर्छन् त्यो भविष्यले देखाउला। तर जेलभित्रका चर्चित पात्रका बारेमा चाहिँ उनी गम्भीर भएको धरहराले बुझ्या छ। अहिलेका चल्तीका धेरै नेता पनि विगतमा यो र त्यो आरोपमा जेलमै त थिए नि, त्यसैले थापा गम्भीर नभएर हुन्छ र?