शुभकार्यमा किन ढिला ?


कुनै बेला डन कहलिएका गणेश लामा अहिले नेता बनेका छन्। तर नेताभन्दा बढी उनी पुरानै पहिचानले बजारमा चिनिन्छन्। लामा गतसाता काठमाडौंका गौशाला क्षेत्रबाट पक्राउ परे। उनको साथबाट १ पेस्तोल र ६ राउन्ड गोलीसमेत बरामद भएको बताइएको छ।
‘कसैले मलाई गोली प्रहार गर्यो अनि मैले प्रतिकार गर्या हो’ –लामाले प्रहरीलाई यस्तै बताएका छन्। विस्तृत कुरा अनुसन्धानले बताउला। विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक हुँदै केही महिनाअघि कांग्रेसमा प्रवेश गरे पनि उनको रिहाइका लागि कांग्रेस चुइक्कसमेत बोल्या छैन। त्यही भएर हो क्यार शनिबार साँझ उनको समर्थन र रिहाइको पक्षमा बनेपामा मसाल जुलुस प्रदर्शन भएको धरहराले देख्यो।

अब यस्तै दबाब बढ्दै गएपछि कांग्रेसले लोकतन्त्र खतरामा पर्ने व्यहोराको विज्ञप्ति पो निकाल्ने हो कि? निकाली सक्या हो भने पनि, खबर पाऊँ है ⁄ अहिले रिहाइ गरिनुपर्ने चर्चामा लामा मात्रै हैन, उता कैलालीतिरका चौधरी सांसद पनि छन्। उनलाई रिहा गरिएको खण्डमा राजपा सरकारमा सहभागी हुने चर्चा चल्न थाल्या छ।

चौधरीलाई रिहाइ गर्दा दल नै सरकारमा सहभागी हुन्छ भने गज्जब भएन त? लौ है, सरकारले बेलैमा सोचोस्। शुभकार्यमा किन ढिला? आखिर सरकार दुईतिहाई बहुमतको बनाउनु पर्या छ।