उपराष्ट्रपतिमा पुन निर्विरोध

0
Shares

काठमाडौं, (नेस)
निर्वाचन आयोगले उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध निर्वाचन भएको घोषणा गरेको छ।

उपराष्ट्रपतिका लागि चैत ९ गते मतदान गर्ने कार्यतालिका आयोगले सार्वजनिक गरे पनि पुनविरुद्ध कसैले पनि उम्मेदवारी नदिएपछि आयोगले आइतबार निर्विरोध निवार्चित भएको घोषणा गरेको हो।

शनिबार उम्मेदवार मनोनयन दर्ताको समय तोकिएकोमा वाम गठबन्धनबाट पुनको मात्र उम्मेदवारी परेको थियो। प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवसहित आयुक्तहरूको टोलीले पुनलाई उपराष्ट्रपतिमा निर्वाचन भएको प्रमाणपत्र प्रदान गर्नुभयो।

चुनावी प्रक्रिया पूरा गरेर उहाँलाई उपराष्ट्रपति पदमा निर्वाचन भएको घोषणा गरिएको आयुक्त ईश्वरीप्रसाद पौड्लले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। यसअघि आयोगले चैत ३ गते उम्मेदवारी दर्ता तथा चैत ४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।

तर एक जनाको मात्रै उम्मेदवारी परेकाले आइतबार उम्मेदवारीउपर विरोधको सूचना दिने, विरोधको सूचनामाथि छानबिन गर्ने, अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारी फिर्ता लिने प्रक्रिया पूरा गरेर निवार्चित भएको घोषणा गर्ने गरेको पनि पौडेलले जानकारी दिनुभयो।

अघिल्लो कार्यकालमा पनि पुन नै उपराष्ट्रपतिमा निर्वाचत हुनुभएको थियो। पुनले अघिल्लो कार्यकालमा कुशल भूमिका निर्वाह गरेको भन्दै वाम गठबन्धनले उहाँलाई उम्मेदवार बनाएको थियो। उपराष्ट्रपति पदका लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निवार्चित व्यक्ति जुन लिङ्ग वा समुदायको हो सोभन्दा फरक लिङ्ग वा समुदायका व्यक्तिलाई उम्मेदवारका रूपमा मनोनयन गर्नुपर्ने व्यवस्था छ।

त्यसले गर्दा आयोगले राष्ट्रपतिको निर्वाचन गराएको करिब दुई सातापछि उपराष्ट्रपतिको निर्वाचन गराउन लागेको हो। फागुन २९ गते भएको राष्ट्रपति निर्वाचनबाट नेपालको राष्ट्रपतिमा खस आर्य समुदायका महिला श्रीमती विद्यादेवी भण्डारी निवार्चित हुनुभएको थियो।