तिलोत्तमा गोल्ड कप थ्री स्टारलाई

0
Shares

यमलाल भुसाल, बुटवल

२०औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि थ्री स्टार फुटबल क्लबले चुमेको छ। शनिबार देवीनगरस्थित फिफा टेक्निकल सेन्टरको खेल मैदानमा विभागीय टोली पुलिससँगको फाइनल प्रतिस्पर्धा २–० गोल अन्तरले जितेर थ्री स्टारले उपाधि चुमेको हो।

प्रतियोगिताको ६६औं मिनेटमा पुलिसका कप्तान रवीन श्रेष्ठको आत्मघाती गोल र दुई पटकसम्मका राम्रा अवसरमा पुलिसका खेलाडी चुक्दा उपाधि विपक्षी थ्री स्टारको पोल्टामा गएको हो। श्रेष्ठको आत्मघाती गोलसँगै ७९औं मिनेटमा थ्री स्टारका कप्तान निराजन खड्काको प्रहारले जाली चुमाई जितका लागि फराकिलो अग्रता दिलाएका थिए। बाँकी समयमा पुलिसले कुनै पनि गोल गर्न नसकेपछि थ्री स्टारका लागि २–० को अग्रता नै उपाधि जित्न पर्याप्त भयो।

गोल्ड कपको उपाधिसँगै थ्री स्टारले ७ लाख ७७ हजार ७ सय ७७ रुपियाँ नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्दा चार पटकको विजेता पुलिसले उपविजेता हुँदै ४ लाख ४४ हजार ४ सय ४४ रुपियाँ नगदमै चित्त बुझायो। गत वर्ष भएको १९औं संस्करणको उपाधि संकटा क्लब काठमाडौंले जितेको थियो।

प्रतियोगितामा थ्री स्टारका कप्तान निराजन उत्कृष्ट खेलाडी घोषित हुँदै होन्डा कम्पनीको स्कुटी तथा २१ हजार १ सय ११ रुपियाँ नगद पुरस्कार प्राप्त गरेका छन्। त्यस्तै प्रतियोगितामा उत्कृष्ट स्ट्राइकर पुलिसका रेजिन सुब्बा, उत्कृष्ट मिडफिल्डर नेपाल पुलिसकै भोला सिलवाल, उत्कृष्ट डिफेन्स आयोजक रूपन्देही ११ का पूर्णबहादुर श्रेष्ठ, उत्कृष्ट गोल रक्षक थ्री स्टारका गोलकिपर एलन न्यौपाने तथा उत्कृष्ट कोच थ्री स्टारका प्रशिक्षक मेघराज केसी भएका छन्। उनीहरूलाई जनही २१ हजार १ सय ११ रुपियाँ नगद पुरस्कार प्रदान गरिएको छ।