हरिणको दुईवटा काटिएको टाउको र हाडखोर भेटियो

0
Shares

विराटनगर, (नेस)
संरक्षणको सूचीमा रहेका वन्यजन्तुको निर्वाध चोरीशिकारी हुने गरेको खुलासा भएको छ। विराटनगर महानगरपालिकाभित्र हरिणको दुईवटा काटिएको टाउको र हाडखोर भेटिएपछि त्यस्तो खुलासा भएको हो। विराटनगर महानगरपालिकाको वडा नम्बर १२ बखरीस्थित नहरमा वन्यजन्तु संरक्षण ऐनमा सूचीकृत रहेको २ वटा हरिणको काटिएको टाउको भेटिएको हो।

दुईवटा हरिणमध्ये एउटाको टाउको नहरको डिलमा र अर्को टाउको नहरको पानीमा भेटिएको छ। चोरी शिकारी गर्नेहरूले बोरामा प्याक गरी ल्याएर सो ठाउँमा हरिणको टाउकोसहित आन्द्राभंँडी फालेका छन्। चोरी शिकारी र वन्यजन्तुजन्य सामग्रीको तस्करी गर्ने समूहले सो ठाउँमा हरिणको टाउको र हाडखोर फालेको हुनसक्ने विराटनगर वडा नम्बर १२ का वडाध्यक्ष हीरालाल कामतको भनाइ छ। विराटनगरको अभिवादन टोल र महावीरटोलको बीचबाट खनिएको नहरको महावीरटोलतर्फ भने तिनै हरिणको हारखोर छरपस्ट छरिएको अवस्थामा भेटिएको छ। यसअघि एक साताअघि पनि सोही क्षेत्रमा ठाउँमा चोरी शिकारी गरिएको हरिणको टाउको र भुँडी फालिएको भेटिएको स्थानीयले जानकारी दिएका छन्। वडाध्यक्ष कामतले खबर गरेपछि आइपुगेको जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाएको छ।

यसरी हरिणको हाडखोर र टाउको भेटिनुले विराटनगरभित्रै रहेका चोरशिकारी वा वन्यजन्तु तस्करहरूले अन्यत्रबाट हरिण मारेर ल्याई सिङ र मासु निकालेर टाउको र हाड फालेको स्थानीयको अनुमान छ। नगरक्षेत्रभित्रै संगठित रूपमा यसप्रकारको आपराधिक गतिविधि हुने गरेको स्थानीयको अनुमान छ।