फेरि पनि उपराष्ट्रपतिमा पुन

0
Shares

काठमाडौं, (नेस)
उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि निर्विरोध हुनुभएको छ। उपराष्ट्रपतिमा उहाँको मात्र उम्मेदवारी परेको हो। उपराष्ट्रपतिको निर्वाचन ९ गते गर्ने कार्यतालिका सार्वजनिक भएको छ।

एमाले र माओवादीबीच भएको सहमतिअनुसार एमालेले राष्ट्रपति र माओवादीले उपराष्ट्रपति पाएको थियो। आइतबार उम्मेदवारीको दावी विरोधको प्रक्रिया पूरा भएपछि मात्र निर्विरोध भएको घोषणा हुने उपराष्ट्रपतिको निर्वाचन कार्यालयले जनाएको छ। पुनले २०७० सालको संविधानसभाको निर्वाचनमा काठमाडौं–४ बाट कांग्रेस नेता गगन थापासँग हार्नुभएको थियो। कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिए पनि उपराष्ट्रपतिमा दिएन। राष्ट्रपतिको निर्वाचन फागुन २९ गते भएको थियो।
पुनको प्रस्तावकमा नेकपा एमालेका नेता सुवास नेम्वाङ, भानुभक्त ढकाल, परशुराम मेघी गुरुङ, माओवादी सांसद पम्फा भुसाल, रेखा शर्मा छन्। यस्तै समर्थकमा माओवादी केन्द्रका सांसदहरू देव गुरुङ, ओनसरी घर्ती, जयपुरी घर्ती, राम नारायण बिडारी र राजेन्द्रप्रसाद गौतम हुनुहुन्छ।