स्मृतिमा डा. बालकृष्ण थापा,साहित्य र डाक्टरी सेवा सँगसँगै



मोहन दुवाल
पेसाले डाक्टर तर साहित्यलाई पनि सँगसँगै अङ्गाल्दै आएका डा. बालकृष्ण थापा भर्खरै हवाई दुर्घटनामा परी स्मृतिका पानामा सीमित हुन पुगे। विद्यार्थी जीवनदेखि नै मेरो घरमा आइरहने मैले चिनेका जोशिला र जाँगरिला थिए उनी। आफ्नो अडान नछोड्ने यिनको स्वभाव बिर्सिनसक्नु छ। युवा अवस्थामा जे–जस्तो चरित्र र दृष्टि बनाए, त्यही चरित्र र दृष्टि पछिसम्म कायम गर्ने अभियानमा यिनी लागिरहे।

डाक्टर भइसकेपछि पनि यिनले आफ्नो राजनीतिक दृष्टिमा अझ भनौं प्रगतिशील भावना र आस्थामा आफूलाई विचलित तुल्याएनन्। यसैले मेरो यिनीसँगको सम्बन्ध अटुट र मैत्रीपूर्ण रह्यो। काभ्रेको माटोमा जन्मिएर, चिकित्सा क्षेत्रमा समर्पित रहेर, आफ्नो विशिष्ट सेवामूलक कार्यहरू गरेर सेवा पुर्याएका राष्ट्रले चिनेका र जिल्लाले गौरव गर्नलायकका चिकित्सक पनि हुन् यिनी। यसैले वि.सं. २०७१ मा नै प्रतिभा सम्मान प्रबन्ध गुठीले मेरै सभापतित्वमा बनेपामा यिनको सम्मान गरेको थियो। सम्मान ग्रहण गर्दै उनले त्यसताका बोलेका यी मर्मस्पर्शी शब्दहरू मान्छेमा मानवता, संसारमा सुशासन, मनमा शान्ति र अनुहारमा खुशी देख्ने यिनको अभिव्यक्ति झल्झली सम्झना आइरहन्छ। मानवताका हिमायती, सुशासनका वकिल, मनमा शान्ति राख्दै आएका एक डाक्टर खुशी देख्ने रहर बोक्दाबोक्दै आफैं हवाई दुर्घटनामा परेर दुःखसँगसँगै अवसान भए।

बालकृष्ण मेरो मनको कुनामा विराजमान भएका मेरा प्रिय डाक्टरसाहेब पनि हुन्। मेरो जीवनसँगिनी भारतीको खुट्टा दुख्ने रोगको पहिचान गरेर औषधोपचाार गर्दै आएका यिनी डाक्टरसँग बरोबर जाउलाखेलस्थित अल्का हस्पिटलमा भेटघाट हुने सन्दर्भ र कुराकानीहरू झल्झली सम्झना आइरहन्छ, भुल्न गाह्रो भइरहेछ। नेपाल साहित्यिक पत्रकार संघ, केन्द्रीय समितिबाट चितवनमा भएको गोष्ठीमा यिनले पुर्याइदिएको आर्थिक, भौतिक सहयोग साहित्यिक पत्रकार जगत्ले भुल्न गाह्रो छ। त्यस्तै न्यूरो सर्जन डाक्टर भएर पनि जनआन्दोलन–२ मा यिनले चिकित्सा क्षेत्रबाट देखाइदिएको योगदान र सङ्घर्ष अविस्मरणीय छ।

 

२०६९ सालमा डाक्टरको कविता कृतिको विमोचन गर्ने कार्यक्रममा मलाई प्रमुख अतिथिका रूपमा यिनले बोलाउँदा म चितवन पुग्न नसक्दाका दुःखद क्षणहरू बिर्सिनसक्नु छ। हवाई दुर्घटनाको समाचार सुन्दै थिएँ, बालकृष्ण थापाको दुःखद निधन भएको समाचार सुनेर जीउ भारी भयो। मेरा प्रिय डाक्टर, मानवताका पूजारी, साहित्यका भक्त बालकृष्ण थापाको दुर्दान्तमय हवाई दुर्घटना परेर अवसान भएकोमा मन र आँखाको आँसु खसाल्दै श्रद्धाञ्जलि भनिरहेछु र स्मृतिमा उनका गुणवत्ता उच्चारण गर्न खोजिरहेछु।

कवितालाई आन्दोलनका रूपमा लेख्न मन पराउने न्यूरो सर्जन डाक्टर बालकृष्ण काभ्रे जिल्लाको कुशादेवी गाविस–३, थापागाउँमा जन्मेका थिए। विद्यार्थीकालदेखि लेख्दै, आफ्नो विचार भाषणमार्फत राख्दै आएका यिनले आजपर्यन्तसम्म पनि आफ्नो विचार र भावनालाई मर्न दिएका थिएनन्। माक्र्सवाद बुझेका, अखिलमार्फत विद्यार्थी जीवन गुजारेका यिनी जीवनलाई सङ्घर्ष र सम्झौताका मापदण्ड सम्झिन्थे। न्यूरो सर्जनजस्तो विषयका विशिष्ट डाक्टर भएर पनि कविता लेख्न रुचाउने, साथीभाइसँग मिलेर केही राम्रा कार्यहरू गर्न रुचाउने यिनका बानी व्यहोराहरू प्रेरणामुखी देखिन्छन्। साहित्य लेखन महत्वपूर्ण रहेर पनि राज्यसंयन्त्रमार्फत अपहेलित र तिरस्कृत रहँदै आएको सन्दर्भ नियालेर उनी साहित्यको परिभाषामा हुत्तिहारा विद्रोह भन्न रुचाउँछन्।

विद्यालय पढ्दादेखि नै कविता लेख्न मन गर्ने यिनका साहित्य लेखनका प्रेरणाका गुरुहरू हुन् गाउँका प्राथमिक विद्यालयका शिक्षकहरू। वि.सं. २०२४ माघ १४ गते कुशादवीमा पिता गम्भीरध्वज थापा र माता सरस्वतीका छोरा भई जन्मेका बालकृष्णले सङ्घर्षबाट नै सिक्दै, आफूलाई सम्भाल्दै सक्षम डाक्टरका रूपमा उभ्याएका हुन्। प्रस्ट विचार राखिहाल्ने, नयाँ विषयवस्तुहरूलाई ज्ञानमा बदलिहाल्ने जाँगरिला बानी व्यहोराले नै यिनी आफूलाई सबल बनाउन सक्षम भए। यिनी बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र चितवन अस्पतालमा न्यूरो सर्जन डाक्टरका रूपमा कार्यरत थिए। अम्मल भनेको नै यिनका दृष्टिमा असल काम र समर्पण हो। त्यसैले यिनी सधैँ आफ्नो काममा लागिरहन्छन् र सधैँ बचेको समय जोहो गरेर सिर्जना र अध्ययनमा लागिरहन मन पराउँछन्। सुमित्रा थापाको माया पाएर इरादा र संघर्षलाई हुर्काउन आफूसक्दो कोशिश गरिरहेका यिनी जीवनमा अचानक दुर्घटना भोगेर हामी सबैसँग टाढा रहन गए।

हरियो यिनको प्रिय रङ्ग। दुर्गालाल श्रेष्ठ र खगेन्द्र सङ्ग्रौला यिनका प्रिय लेखकहरू। म्याक्सिम गोर्की पढेर यिनी कहिल्यै थाकेनन्। राज्य र समाजमा विकृति हटोस्, सुशासन चलोस्, राज्य सञ्चालन केवल राजनीतिज्ञहरूको मात्र चाहना नबनोस् भन्ने यिनको मनभित्रको चाहना भएकै कारणले सबैको जिम्मेवारीले मात्र शान्त, विकसित राज्य बन्छ भन्ने अवधारणा बोकेर आफू पनि समाजभित्र सहभागी हुन रुचाइरहने यिनको स्वभाव सधैँ क्रियाशील थियो। भारत, चीन, बंगलादेश, पाकिस्तान, श्रीलंका, हङकङ, जापान, थाइल्यान्ड, रुस, युएई, स्लोभेनिया, अमेरिका, नेदरल्यान्ड, बेल्जियम, लक्जेम्बर्ग, सिंगापुर आदि राष्ट्रहरू मात्र घुमेनन् यिनले, आफ्नो देश नेपालका सबैजसो जिल्लामा पनि घुमेर नेपाल बुझ्न सक्षम भए यिनी। मान्छेका चाहनाहरू अनगिन्ती हुन्छन्। ती चाहनाहरू पूर्ति गर्न लागिरहनुपर्छ अन्यथा चाहना पूर्ति हुने सम्भावना हुँदैन, यिनी भन्ने गर्थे। डा. थापाले चितवनमा पनि न्यूरो सर्जनका रूपमा मात्र होइन, सबैका प्रिय समाजका सेवक तथा लेखकका रूपमा चिनाएर गए। स्वास्थ्य क्षेत्रमा यिनले भर्खरै १५ वर्ष भयो सेवा पुर्याएको तर यिनले यसै क्षेत्रमा पुर्याएको योगदान बिर्सिनसक्नु तुल्याइसकेका छन्। न्यूरो सर्जनमा स्नातकोत्तर गरेका यिनले न्यूरो सर्जन प्रविधिमा सिपालु डाक्टरका रूपमा नाम बनाइसकेका छन्।

लेखन क्षेत्रमा लागेर पछिल्लोचोटि २०४७ सालमा मात्र प्रकाशित भएका यिनको पहिलो लेख ‘जातीय तथा क्षेत्रीय प्रतिनिधित्व तथा पेसाकर्मीहरूको थलो हुनुपर्छ राष्ट्रिय सभा’ छलफल साप्ताहिक पत्रिकामा प्रकाशित भएको थियो। बाबापुरा मोडेल समावेशी संविधानसभा नेपाल मूल प्रश्न ७ नामक पुस्तक चितवनका बुद्धिजीवीहरू बालकृष्ण पौडेल, डा. पुण्यप्रसाद रेग्मी, राजकुमार तिवारीका सहलेखनमा प्रकाशित छन्। उक्त पुस्तक समावेशी संविधानसभाको खाका खिच्न सफल छन्। यस पुस्तकले देखाउँछ– बालकृष्ण थापा डाक्टरी पेसामा मात्र सीमित छैनन्। यिनी राजनीति सोच्छन्, आफ्नो दृष्टि भावना कलममार्फत व्यक्त गर्छन्। त्यसैले त यिनी देशप्रतिको जिम्मेवारी निभाउन पनि सक्षम छन् भन्न सकिन्छ।

डाक्टर बालकृष्ण हस्पिटलमा पनि सेवा सम्झेर धाउँथे। समाज र देशप्रतिको जिम्मेवारी भनेको डाक्टरहरू सिर्फ आफ्नो पेसालाई सम्झिन्छन् र करोडौं कमाउने धृष्टता बोक्छन्। तर यिनी अरू डाक्टरभन्दा पृथक देखिन्छन्। किनभने यिनी देशप्रति आफ्नो पनि जिम्मेवारी छ भन्छन्। यस खालको चिन्तन मनन बोकेर स्वास्थ्यक्षेत्रमा लागेका कारणले यिनी अध्ययनशील र समाजपरक देखिएका हुन्। यिनका प्रकाशित पुस्तकहरूमा १) डाक्टरी कविता (कवितासङ्ग्रह–२०६१), २) डाक्टरको कविता (कवितासङ्ग्रह–२०६९), ३) न्यूरो अको सर्जरी इन नेपाल (इ.सं. २०१३) र ४) चिरफार (निबन्धसङ्ग्रह–२०७०) छन्। कवितामा पनि निष्पक्ष भावना पोख्दै कविका रूपमा देखा पर्दै आएका यिनी समाज नैतिक धरातलमा उभिएको हेर्न चाहन्थे। यथार्थवादी दृष्टि पोख्दै प्रगतिशील–दृष्टिचेत् यिनका कवितामा पाइने विशेषताहरू हुन्।

यस्तै खालको विकृतिका विरुद्ध कलम चलाउन सिपालु बनेका कवि डाक्टर बालकृष्ण थापासँग मेरो परिचय ३५ औं वर्षअगाडिदेखि भएको हो। उनी डाक्टर बने, म लेखक। राजनीतिक आस्था र विश्वास उही–उही। देश र जनताकै पक्षमा उनी लाग्न चाहिरहे, म पनि आफ्नै आस्थामा कुदिरहेँ। आज अचानक उनी हवाई दुर्घटनामा परेको समाचारले मेरो मन रुवाइदियो। के भनौं खै ⁄ हुने हुँदो रहेछ। अलबिदा भनिरहेछु मेरा मित्र भाइ बालकृष्ण थापालाई। उनले आफ्नो कवितामा लेखेझैँ उनलाई सम्झिरहन्छु– तिमी जहाँ भए पनि÷ जहाँ गए पनि÷ धैर्यताको बाँध नफुटाउनु÷ शरीररूपी चीर हरे पनि÷ आत्मारूपी चीर जोगाउनु÷ इतिहासको एक भेउले÷ तिमीलाई स्वीकार गर्नेछ÷ तिम्रो सुस्वागतममा म पनि पर्खिरहनेछु÷ जीवित वा मृत÷ तर पनि म पर्खिरहनेछु÷ र पनि म पर्खिरहनेछु।

 

 

प्रतिक्रिया दिनुहोस्