चर्चित वैज्ञानिक हकिङको निधन



काठमाडौं, (नेस)
वैज्ञानिक खोज अनुसन्धानमा सर आइजक न्युटनपछि धेरै चर्चामा रहेका विश्वका चर्चित वैज्ञानिक स्टेफन हकिङको बुधबार ७६ वर्षको उमेरमा निधन भएको छ।

हकिङ सन् १९४२ जनवरी ८ मा बेलायतमा जन्मिएका थिए। खगोलशास्त्रका चर्चित वैज्ञानिक स्टेफनले आफ्नो जीवनको महत्त्वपूर्ण समय ब्रह्माण्डमा रहेको ब्ल्याक होल र अन्तरिक्ष विज्ञानका सिद्धान्तबारेका शोधको अध्ययन र अनुसन्धानमा बिताएका थिए। पृथ्वीको आयु १ हजार वर्ष मात्रै भएको बताएका हकिङले मानवजातिलाई जोगाउन पृथ्वीजस्तै बस्नयोग्य अर्को ग्रह पत्ता लगाउन जरुरी भएकोमा जोड दिने गरेका थिए।

२१ वर्षको उमेरमा भर्याङबाट लडेर शारीरिकरूपमा अशक्त भएर पनि निरन्तर खोज अनुसन्धानमा जुटेकाले उनलाई विशेषरूपमा स्मरण गरिन्छ। मोटर न्युरोन नामक आनुवंशिक रोगले सताएपछि चिकित्सकहरूले हकिङ दुई वर्षसम्म मात्रै बाँच्ने बताए पनि उनले मृत्युलाई जितेको भनेर चर्चा गरिन्छ। त्यस्तो रोगका कारण शरीरका सबै अंगले काम गर्न छोड्ने र श्वासनली पनि बन्द हुने अनुमान गरिएको थियो।

सोही रोगका कारणले उनको शरीरका अधिकांश अंग निस्क्रिय भएपछि उनको जीवन ह्वील चियरको सहायताले चलेको थियो। शरीर पूर्णरूपमा अशक्त भएर आवाज ननिस्किएपछि आवाज निकाल्ने उपकरणको मद्दतले उनी संवाद गर्ने गर्थे। सन् १९९८ मा प्रकाशित भएको उनको पुस्तक ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ संसारभर निकै चर्चित बनेको थियो।

प्रतिक्रिया दिनुहोस्