स्टेसनरी पसलमा पाइन्छ निरोगिताको प्रमाणपत्र



सिर्जना पन्त, बागलुङ
वारी चालक अनुमतिपत्र लाइसेन्सको आवेदन भर्दा यातायात व्यवस्था कार्यालयमा अनिवार्य रूपमा पेश गर्नुपर्ने निरोगिताको प्रमाणपत्र बागलुङका स्टेसनरी पसलमा पाइने गरेका छन्। धौलागिरी अञ्चल यातायात व्यवस्था कार्यालय बागलुङमा माघ महिनाबाट सवारी चालक अनुमतिपत्रका लागि आवेदन मागेपछि आवेदन फारम भर्न गएका सर्वसाधरणहरूले यातायात व्यवस्था कार्यालयनजिकै रहेका स्टेसनरी पसलबाट निरोगिताको प्रमाणपत्र खरिद गर्ने गरेका छन्।

सवारी चालक अनुमतिपत्रका लागि अनलाइन आवेदन भरेर कार्यालयले तोकेको मितिमा फोटो खिचाउन कार्यालय पुगेका आवेदकहरूले नजिकैको स्टेसनरी पसलबाट २ देखि ३ सय रूपियाँमा निरोगिताको प्रमाणपत्र खरिद गर्ने गरेका छन्।

अनलाइनमार्फत फारम भेरेकी काँठेखोला गाउँपालिका–१ पालाकी रोशनी क्षेत्री अनलाइनफारम भरेको प्रमाण लिएर धौलागिरी अञ्चल यातायात व्यवस्थाको कार्यालयमा फोटो खिचाउन पुग्दा कार्यालयका कर्मचारीले निरोगिताको प्रमाणपत्र पनि आवश्यक रहेको बताए। स्वास्थ्य परीक्षण गरेर निरोगिताको प्रमाणपत्र ल्याउनका लागि भन्दैं कार्यालयबाट बाहिर निस्केकी क्षेत्रीलाई कार्यालयको ढोकामै उभिएका एक युवाले आवश्यक सबै कागजात आफ्नै पसलमा पाइने भन्दै लगे। ती व्यक्तिले कार्यालयको नजिकै रहेको स्टेसनरी पसलमा लगेर ब्लड गु्रप मात्र सोधेर २ सय रूपियाँमा निरोगिताको प्रमाणपत्र आफूलाई दिएको क्षेत्रीले बताउँनुभयो।

सवारी चालक अनुमतिपत्रका लागि आवेदन फाराम भर्दा अनुसूची ११ को नियम २० को उपनियम २ संग सम्बन्धित नियमावलीको अनुसूची १८ बमोजिम निरोगिताको प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने हुन्छ। धवलागिरी अञ्चल यातायात व्यवस्था कार्यालयको अगाडिका स्टेसनरी पसलहरूमा डा.सन्दीप कुमार शर्मा नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर १९९२९ भएको छाप हानेर धमाधम फर्जी निरोगिताको प्रमाणपत्र बिक्री गरिरहेका छन्।

उक्त नाम र उल्लेखित नम्बर भएको डाक्टर बागलुङमा नभएको बुझिएको छ। यहाँको धौलागिरी अञ्चल अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सागारकुमार राजभण्डारीले अञ्चल अस्पतालमा सन्दीपकुमार नाम गरेको कुनै पनि डाक्टर नभएको बताउनुभएको छ। त्यस्तै जिल्लाका कुनै पनि स्वास्थ्य केन्द्रहरूमा सन्दीपकुमार नाम गरेका डाक्टर नभएको जिल्ला जनस्वास्थ कार्यालयका प्रमुख दीपकप्रसाद तिवारीले बताउँनुभयो।
कसले कसरी मेडिकल रिपोर्ट ल्यायो भन्ने हेर्न काम आफूहरूको नभएको धौलागिरी अञ्चल यातायात व्यवस्था कार्यालयका प्रमुख राजेन्द्र घिमिरेले बताउनुभएको छ। अनुसूची १८ अनुसार मेडिकल काउन्सिलबाट दर्ता नम्बर लिएका डाक्टरले निरोगी प्रमाणित गरेको प्रमाणत्रप लिएर आउनेले आवेदन दिन पाउने व्यवस्थाअनुसार आफूहरूले फारम बुझेको भए पनि निरोगिताको प्रमाणपत्रको विषयमा गुनासो आएकाले आगामी दिनमा यातायात कार्यालयमै डाक्टर राखेर निरोगिताको चेकजाँच गराउने व्यवस्था मिलाउने तयारी गर्न थालेको घिमिरेले बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्