संविधान संशोधन औचित्यका आधारमा गरिनेः प्रधानमन्त्री

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान गतिशील दस्तावेज भएकाले आवश्यकता र औचित्यका आधारमा संशोधन गर्न सकिने स्पष्ट पार्नुभएको छ।

प्रधानमन्त्री ओलीलाई संसद्मा विश्वासको मत दिएका प्रतिनिधिसभा सांसद, राष्ट्रिय सभा तथा प्रदेशसभाका सांसदहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा धन्यवाद दिने क्रममा बुधबार प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो।

‘संविधान समयको मागअनुसार संशोधन हुन्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘तर देशलाई नोक्सानी हुने गरी, अखण्डतामा असर पर्ने गरी संशोधन हुँदैन। देशलाई थप मजबुद तर एकताबद्ध पार्नका लागि संशोधन हुन्छ।’

प्रधानमन्त्री ओलीले सरकालाई आतंककारी क्रियाकलाप सैह्य नहुने बताउनुभएको छ। अप्राकृतिक, असामाजिक तत्वहरूले यस किसिमका क्रियाकलापबाट फाइदा लिन्छु भन्ने नसोचे राम्रो हुने प्रधानमन्त्री ओलीको चेतावनी छ।

प्रधानमन्त्री ओलीले सरकार हिंसा र अपराध रोक्न कडाइका साथ लागि पर्ने बताउनुभएको छ। ‘अब बलात्कारका घटना रोकिन्छन्। महिला हिंसाविरुद्ध जागरण अभियान पनि चलाइन्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘कडा कानुन बनाएर कार्यान्वयन पनि गरिन्छ।’ प्रधानमन्त्री ओलीले आफू भ्रष्टाचारप्रति असहिष्णु हुने कुरा दोहोर्याउनुभएको छ।
प्रधानमन्त्री ओलीले केही तत्वहरूले सरकार बलियो हुँदा तानाशाही हुने, लोकतन्त्र नहुने, सरकार अनुशासित भयो भने तानाशाह हुने, लोकतन्त्र नहुने, कानुनको राज भयो भने निरंकशुता हुने, लोकतन्त्र नहुनेजस्ता प्रचार गरेर जनतालाई भ्रमित पार्न खोजेको बताउनुभएको छ।

‘यस्ता भ्रममा पर्नु हुँदैन’, प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘कुनै पनि कुराको समय हुन्छ। यसरी सत्यलाई छोपेर जनालाई भ्रमित पार्ने समय सकियो। अब जनताले सत्य के हो? भ्रम के हो? आफैं छुट्याउन सक्छन्।’
प्रधानमन्त्री ओलीले सांसदहरूलाई मर्यादामा बस्न निर्देशन दिनुभएको छ। जनताको मतले आफूहरू सांसद भएकाले हरेक गतिविधि जनताका हितका निम्ति गर्न प्रधानमन्त्रीले सांसदहरूलाई आग्रह गर्नुभएको छ।

प्रधानमन्त्री ओलीले देश बनाउनका लागि सबैले सदुपयोगको सिद्धान्त अपनाउनुपर्ने बताउनुभएको छ। ‘अब हरेक मिनेट, समय, हरेकको बुद्धि, हरेकको पसिना, हरेक टुक्रा जमिन सदुपयोग गर्नुपर्छ’, प्रधानमन्त्रीओलीले भन्नुभयो– ‘यी सबै कुराको गाम्भीर्यतालाई बुझ्न सकियो भने देश निर्माण हुन समय लाग्दैन।

कार्यक्रममा नेकपा (एमाले),नेकपा(माओवादी केन्द्र), संघीय समाजवादी फोरम,राष्ट्रिय जनता पार्टीका प्रतिनिधिसभा, राष्ट्रिय सभा,र प्रदेशसभाका सांसदहरूको उपस्थिति थियो।