दोस्रो अन्तर्राष्ट्रिय नर्सिङ सम्मेलन–२०१८
भगवती तिमल्सिना,
विश्वमै स्वास्थ्य सेवा सबैको पहुँचमा पुग्नुपर्छ भन्ने मान्यता रहेको अवस्थामा नेपालमा पनि २०७२ को संविधानमा स्वास्थ्य सेवा पाउने अधिकार सबै नेपालीमा समान हुने व्यवस्था गरिएको छ। यसलाई व्यवहारिकरूपमा सुधार ल्याउनका लागि नीतिगत र व्यावहारिक सुधारका काम अझ धेरै गर्न बाँकी नै छ। यतिबेला बिरामी र स्वास्थ्यकर्मीका बीचमा हुने दूरी कसरी कम गर्ने भन्ने बारेमा विश्वव्यापीरूपमै सोचको विषय बनिरहेको छ।
विकसित मुलुकको दाँजोमा नेपाल जस्ता मुलुकमा अझ यसको सुधारको खाँचो छ। विकसित मुलुकमा स्वास्थ्य बीमालगायतका सेवा सुविधा सहजै व्यवहारमा लागू भइसक्दा नेपालमा भर्खर बीमाको सोच सरकारले अघि सारेको छ। कार्यान्वयनको पाटो भने अझै सहज र सर्वसुलभ भइसकेको छैन। यस्तो अवस्थामा नेपाली निकै जटिल समस्या लिएर स्वास्थ्य केन्द्रमा पुग्न बाध्य छन्। बिरामी र बिरामीका आफन्तले रोगको पहिचान र उपचार छिटो सकेर घर फर्किने चाहना राख्नु स्वभाविकै देखिन्छ। तर, यो सोचलाई सहजरूपमा व्यवहारमा उतार्न भने त्यति सजिलो छैन।
जब जटिल खालको समस्या लिएर बिरामी अस्पताल पुग्छन् त्यतिबेला प्रत्यक्ष बिरामीसँग पहिलो संवाद गर्ने र बिरामीको समस्या पहिचान गरी डाक्टरलाई जानकारी गराउने पहिलो माध्यम नर्स नै हुन्छन्। यति मात्र नभई अहोरात्र बिरामीको सेवामा खट्नुपर्ने जिम्मेवारी पनि उनै नर्सको हुन्छ। तर, यति ठूलो जिम्मेवारी बोकेका नर्सलाई बिरामी, बिरामीका आफन्त र स्वास्थ्य संस्थाले गर्ने व्यवहार भने अत्यन्तै अव्यावहारिक हुनुले नर्सिङ व्यवसायमा निकै ठूलो आघात पुगेको पाइन्छ।
यिनै नर्स हुन् जो बिरामीको पीडामा दुःखी हुन्छन् र बिरामी निको हुँदा खुसी भएर बिदाइ गर्छन््। उनीहरूको अनवरत खटाई र सेवाको मूल्यांकन गर्नुपर्ने निकाय सरकार, स्वास्थ्य संस्था सञ्चालक, अस्पताल व्यवसायी, नर्सिङ व्यवसायी, बिरामी र बिरामीका आफन्तले कहिले कही उनीहरूको मान–मर्यादा र सम्मानको शब्दसम्म प्रयोग नगर्दा निकै दुःखी हुने गर्दछन्। यति हुँदाहुँदै पनि उनीहरूले बिरामीको सेवामा अलिकति पनि कमी आउन नदिइकन खट्ने मानसिकताको विकास गरेर अघि बढ्नु निकै प्रशंसनीय कार्य हो। नर्सले धेरै इच्छा, आंकाक्षा मनभित्रै दबाएर घर–परिवार र समाजको गहन जिम्मेवारीको बाबजुद पनि बिरामीको सेवामा आफूलाई अनवरतरूपमा खटिने प्रण गर्नु निकै प्रशंसनीय कार्य हो। तर, उनीहरूको उचित सम्मान, व्यवस्थापन, सेवा, सुविधामा भने न त सरकारले नै ध्यान दिएको छ, न त अस्पताल सञ्चालकहरूले नै।’
यतिबेला व्यावहारिकता र यथार्थतालाई मनन गर्दै धुलिखेल अस्पताल, काठमाडौं विश्वविद्यालय शिक्षण अस्पताललमा भने नर्स र डाक्टर एक सिक्काका दुईपाटा हुन् भनी दुवैलाई समान अवसर दिँदै आएको छ। यसकै प्रतिफल हुनुपर्छ दोस्रोपटक अन्तर्राष्ट्रिय नर्सिङ सम्मेलन नर्सद्वारा नै व्यवस्थित गरी एक–आपसमा व्यावहारिक शिक्षा र सिकाइ कसरी आदान–प्रदान गर्ने भन्नेबारेमा बृहत् छलफल नै चलाए। काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेज, धुलिखेल अस्पताल, काठमाडौं विश्वविद्यालय अस्पताल, नर्सिङ विभागले सन् २०१४ देखि नै बिरामीप्रति गुणस्तरीय अनुसन्धानात्मक सेवाका विषयमा केन्द्रित भएर सम्मेलनको थालनी गरेका थिए। जसरी काठमाडौं विश्वविद्यालय धुलिखेल अस्पतालले नर्सको इज्जत र सम्मानले नर्सको मनोबल उच्च बनाउन प्रयास गरिरहेको छ। नेपाल सरकारले पनि यसबाट पाठ सिकेर व्यावहारिकतामा उतार्नु जरुरी देखिन्छ।
धुलिखेल अस्पताल काठमाडौं विश्वविद्यालय शिक्षण अस्पतालको आयोजनामा दोस्रो अन्तर्राष्ट्रिय नर्सिङ सम्मेलन नै गरी स्वास्थ्य उपचार र अस्पताल सञ्चालनमा नर्सको भूमिकाले बिरामीसँगको निकटतालाई कसरी हेरिएको छ भन्ने बारेमा फेब्रुअरी २२ र २३ मा नेपालसहित विश्वका ६ मुलुकको नर्स भेला भई निकै गम्भीर छलफलसहितको सम्मेलन सम्पन्न भयो। यो सम्मेलनको सकारात्मक र व्यावहारिक पक्षका विषयमा यतिबेला नेपालको स्वास्थ्य मन्त्रालयदेखि हरेक स्वास्थ्य संस्थामा चर्चाको विषय बनिरहेको छ।
उक्त सम्मेलन काठमाडौं विश्वविद्यालय र अस्पतालको सहयोगमा यहींको नर्सिङ विभागद्वारा आयोजना गरिएको थियो। गरे के हुन्न भन्ने मान्यता बोकेका काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा रामकण्ठ माकजुको मार्गनिर्देशमा परिचालित नर्स निकै लामो समयदेखि सम्मेलनको तयारीमा स्वस्फूर्तरूपमा जिम्मेवारी बाँडफाँडका साथ जुटे र प्रशंसनीय कार्य गरेर देखाए। यस्तै अवसर र स्थान पाए अन्य अस्पतालमा कार्यरत नर्सले पनि आफूभित्र लुकेको प्रतिभा बाहिर ल्याएर बिरामीको सेवामा मात्र नभई देशकै लागि ठूलो योगदान पु¥याउन सक्ने थिए।
उक्त सम्मेलनको प्रमुख अतिथि स्वास्थ्य मन्त्रालयका सचिव डा. पुष्पा चौधरी रहनुभएको थियो। उहाँले नेपाल एउटा सम्भावना नै सम्भावनाको खानी रहेको मुलुक हो र नर्सले स्वास्थ्य सेवामा महत्वपूर्ण भूमिका खेलिरहेको कुरा बताउनुभयो। उहाँले सम्मेलन नर्सिङ व्यवसायीहरूका लागि एक सुन्दर अवसर हो र एक–आपसमा सीप, शिक्षा, अनुभव आदान–प्रदान गर्नुका साथै अनुसन्धानात्मक खोजको विकासका लागि अझ फलदायी हुने बताउनुभयो।
अन्तर्राष्ट्रिय सम्मेलनको संयोजक बिनु थापा भन्नुहुन्छ– ‘चिन्तामणि योगीका भनाइले अझ थप प्रेरणा र उत्साह थपिएको छ।’ उहाँले नर्स भनेका बिरामीका सबैभन्दा नजिकका आफन्त हुनुपर्छ र नर्सले बिरामीसँग हासेर बोल्ने, बिरामीका कुरा सुन्ने र सम्बोधन गर्ने गर्नाले आधा रोग नै घट्ने हुन्छ। उहाँले भन्नुभयो– ‘बिरामी भनेका भगवान् जस्तै हुन् र उनीहरूको सम्मान गर्नु नै स्वास्थ्यकर्मी तथा नर्सको दायित्व हो।’
उक्त सम्मेलनमा झण्डै ४ सय जनाको सहभागिता रहेको कार्यक्रमका सहसंयोजक सीता कार्कीले जानकारी गराउनुभयो। उहाँ थप्नुहुन्छ– ‘सम्मेलन सोचेभन्दा धेरै राम्रो र उपलब्धिमूलक भयो। सहभागी लामो समय नर्सिङ पेसा गरेका खारिएका अनुभवी व्यक्तित्वहरू हुनुहुन्थ्यो। उहाँहरूको कार्यपत्र अत्यन्तै व्यावहारिक र अन्तर्राष्ट्रिय मापदण्डभित्र रहेको थियो।’ धुलिखेल अस्पताल परिसरमा आयोजना गरिएको उक्त सम्मेलनमा नेपाल, बेलायत, अमेरिका, क्यानडा, स्विजरल्यान्ड र नर्वेका प्रतिनिधिले सहभागिता जनाएका थिए।
सम्मेलनमा सहभागीसँगको अनुभव आदान–प्रदानका क्रममा डा. रामले धुलिखेल अस्पतालको नर्सिङ सेवा तथा सम्मेलन अन्य मुलुकमा भन्दा राम्रो भएको प्रशंसा गरिरहँदा आफूहरूलाई धुलिखेल अस्पतालप्रति निकै गर्व लागेको सहसंयोजक राधा आचार्यले बताउनुभयो।
नर्सिङ शिक्षा, प्रयोगात्मक र अनुसन्धान विधिलाई व्यवहारिकरूपमा उतार्न र एक–आपसमा सीप र शिक्षा साटासाट गर्ने उद्देश्यले आयोजना गरिएको थियो। उक्त सम्मेलन फलदायी रहेको पनि आयोजक संस्थाका सहसंयोजक कार्कीको दाबी रहेको छ। पेसागत विकास र व्यवसायिकताका लागि यस्ता सभा सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने हुनाले काठमाडौं विश्वविद्यालय शिक्षण अस्पताल धुलिखेलले सन् २०१४ मा पहिलोपटक अनुसन्धानमा आधारित नर्सिङ सम्मेलनको शुरूआत गरेको थियो। भने सन् २०१८ को फेब्रुअरीमा दोस्रो सम्मेलन गरिरहँदा सन् २०२१ को फेब्रुअरीमा तेस्रो नर्सिङ सम्मेलन गर्ने मितिसमेत तय भइसकेको छ। सम्मेलनमा सिकाइ, भोगाइ, प्रस्तुतिहरू जीवन उपयोगी थिए। यसका साथै सम्मेलनमा सहभागी अधिकांश युवा नर्स रहेका र उनीहरूमा लुकेर बसेका क्षमताहरू बाहिर आउनुका साथै थप ऊर्जा मिलेको राधा आचार्यले जानकारी गराउनुभयो।
सम्मेलनमा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा रामकण्ठ माकजु, रजिस्टार डा. भोला थापा, स्कुल अफ मेडिकल साइन्सका डिन डा. राजेन्द्र कोजु, काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्राडा सुरेशराज शर्मालगायतका उच्च पदस्त व्यक्तित्वले नर्सिङ पेसाको महत्व र नर्सिङ व्यवसायलाई आफ्नो कर्तव्य र धर्म सम्झेर सबै बिरामीलाई हसिलो अनुहारले सेवा गर्न अनुरोध गर्नुभएको थियो।
दुईदिने सम्मेलनमा एक–आपसमा छलफल, अनुभव साटासाट, कार्यपत्र प्रस्तुति, मौखिक तथा व्यावहारिक प्रस्तुतिका साथै पोस्टर, पम्प्लेट टाँसेर, चित्र प्रस्तुत गरेका थिए। दुई दिवसीय कार्यक्रमको अध्यक्षता प्राडा रोजिना सिंहले गर्नुभएको थियो। नेपालमा यसरी एउटा संस्थाले आयोजना गरेको यो सम्मेलन निकै ठूलो र समयसापेक्ष भएको स्वास्थ्य मन्त्रालयका सचिव डा. चौधरीले बताउनुभयो।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका नर्सिङ विभागका प्रमुख रोशनी लक्ष्मी तुई तुई, नर्सिङ एसोसियसनका प्रतिनिध अम्बिका पौडेल, प्राडा इन्दिरा सिंह, रेजिना युनिर्भसिटी क्यानडाका डीन डा. करिन इस्लर, युनिर्भसिटी अफ क्यालिफोर्निया, सानफ्रान्सिस्कोका प्रो. सरोन विनर, थम्पोसन रिभर्स युनिर्भसिटी क्यानडाका स्कुल अफ नर्सिङका संयोजक विनडी मिस्किन्जेई, सोही युनिर्भसिटीकी एन्ड्रा सुलिभान, बेलायतका मारग्रेट वाल्सलगायतका व्यक्तित्वले नर्सिङ के हो र नर्सको भूमिका बिरामीका लागि कति महत्वपूर्ण हुन्छ भन्ने बारेमा जानकारी गराएका थिए। वास्तवमा बच्चाका लागि आमाको भूमिका जस्तो रहन्छ बिरामीका लागि नर्सको भूमिका पनि त्यस्तै महत्वपूर्ण हुन्छ भन्ने कुरा सम्मेलनमा प्रस्तुत गरिएका कार्यपत्र, अनुभवले झल्काएको थियो।
कार्यक्रममा उपकुलपति माकजुले नर्सको कार्यक्षमता अभिवृद्धिका लागि विश्वविद्यालय र अस्पतालले संयुक्तरूपमा सक्दो प्रयास गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो। सोही अवसरमा उहाँले डा. योगीलाई मायाको चिनो प्रदान
गर्नुभएको थियो।
प्रतिक्रिया