३ पटकका गोल्डमेडलिस्ट न्युरो सर्जन डा. थापाकाे पनि विमान दुर्घटनामा ज्यान गयाे

0
Shares

चितवन । युएस–बाङ्ला एयरलाइन्सको विमान दुर्घटनामा वरिष्ठ न्युरो सर्जन बालकृष्ण थापाको निधन भएको छ। डा थापा भरतपुरको चौबिसकोठीमा रहेको चितवन अस्पताल प्रालि तथा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत थिए।

बंगलादेशमा भएको चिकित्सासम्बन्धी सेमिनारमा भाग लिएर नेपाल फर्कने क्रममा उनको विमान दुर्घटनामा परी मृत्यु भएको हो।

२०२४ माघ १४ गते कुसादेवी–३, काभ्रेमा जन्मिएका थापाले बनेपास्थित कुशादेवी उच्चमाविबाट एसएलसी उत्तीर्ण गरेका थिए। डा थापा चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगञ्जका गोल्ड मेडलिस्ट डाक्टर हुन्। २०५१ सालमा एमबिबिएस उत्तीर्ण भएका उनले चिकित्सा क्षेत्रमा अध्ययनका क्रममा ३ पटकसम्म स्वर्ण पदक प्राप्त गरेका छन्। थापाले बंगलादेशको ढाकामा रहेको बंगबन्धु शेख मुजिब चिकित्सा विश्वविद्यालयबाट न्युरो सर्जरीमा एमडी गरेका थिए।

डा थापा थुप्रै देशमा पुगी विभिन्न शोध तथा अध्ययनमा सक्रिय थिए। न्युरो सर्जरीमा लामो समय योगदान गरेका कारण उनले देश-विदेशका धेरै पुरस्कार र सम्मान पाइसकेका छन्।

चिकित्सा पेशाका साथै साहित्यमा समेत सक्रिय थापाका ‘डाक्टरी कविता’ (२०६१), ‘डाक्टरका कविता’ (२०६९) कवितासंग्रह र ‘चिरफार’ (२०७०) निबन्धसंग्रह प्रकाशित छन्। यसका साथै उनले चिकित्सा क्षेत्रबारेको आफ्नो अध्ययन र शोधलाई समेटेर सन् २०१३ मा ‘न्युरो अंकोलोजी’ पुस्तक समेत निकालेका थिए।