राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिना निर्विरोध



काठमाडौं । राष्ट्रियसभाको अध्यक्षमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा प्रदेश नं ४ का सहसंयोजक गणेश तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन् । राष्ट्रियसभाको अध्यक्ष पदमा उनको एक्लो उम्मेद्वारी परेपछि उनी निर्विरोध निर्वाचित हुने निश्चित भएको छ ।

अपराह्न साढे १२ बजे संसद भवनमा पुगेर तिमिल्सिनाले उम्मेदवारी दर्ता गराएका थिए । तिमिल्सिनाको प्रस्तावकमा खिमलाल भट्टराई र समर्थकमा दिनानाथ शर्मा र सुमनराज प्याकुरेल रहेका छन् । वाम गठबन्धनको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष पद एमालेको भागमा परेको थियो । एमाले उम्मेदवारलाई माओवादी लगायतका दलहरुको समर्थन रहनेछ ।

को हुन गणेश तिमल्सिना ?
वाम गठबन्धनबाट राष्ट्रियसभाको अध्यक्षका उम्मेदवार बनेर निर्विरोध निर्वाचित भएका नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा प्रदेश नं ४ का सहसंयोजक गणेश तिमिल्सिना पर्वतको मोदी गाउँपालिका–७ तथा तत्कालिन राम्जा देउराली गाविसमा जन्मेका हुन् ।

राष्ट्रियसभामा प्रदेश नं ४ बाट विजयी तिमिल्सिना बाबु तुलसीप्रसाद तिमिल्सिना तथा आमा हिरादेवी तिमिल्सिनाको कोखबाट २०१८ साल जेठ १२ गते उनको जन्म भएको हो । राम्जा ठाँटीस्थित पशुपती उच्च माविबाट २०३७ सालमा एसएलसी उत्तिर्ण उनले पोखरामा रहेको पृथ्वी नारायण क्याम्पसबाट व्यवस्थापनमा प्रमाणपत्र तह उत्तिर्ण भए ।

नेकपा एमाले निकट विद्यार्थी संगठन अखिलबाट राजनीति सुरु गर्नुभएका तिमिल्सिना युवा संघको केन्द्रीय सदस्य, मुस्ताङ जिल्ला र बाग्लुङ जिल्लाको सचिव भए ।

पञ्चायतकालमा राजनीतिमा लागेका कारण २०४२ साल साउनदेखि २०४६ साउनसम्म तिमिल्सिनाले जेल बस्नुपर्यो । वि सं २०४६ सालको आन्दोलनमार्फत बहुदलीय व्यवस्था लागू भएपछि उहाँले जिल्लामा सक्रियता बढाउँदै २०४९ सालको स्थानीय निर्वाचनमा राम्जा देउराली गाविस अध्यक्ष भए । त्यसैगरी २०५४ सालको स्थानीय निर्वाचनमा समेत राम्जाकै अध्यक्ष हुँदै जिल्ला सभापति चुनिए ।

त्यसपछि २०५४ सालमा एमालेको बैकल्पिक केन्द्रीय सदस्य, २०६४ सालको आठौं महाधिवेशनबाट केन्द्रीय सदस्य र नबौं महाधिवेशनपछि पोलिटब्यूरो सदस्य भए ।

प्रतिक्रिया दिनुहोस्