राष्ट्रिय बाल साहित्य सम्मेलन सम्पन्न

0
Shares

रामधन राई, खोटाङ
खोटाङमा आयोजित २५औं राष्ट्रिय बाल साहित्य सम्मेलन विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ। नेपाल बाल साहित्य समाज काठमाडौंले नेपाल प्रज्ञा प्रतिष्ठान र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकासँगको सहकार्यमा आयोजना गरेको दुई दिने राष्ट्रिय बाल साहित्य सम्मेलन बालबालिका केन्द्रित विभिन्न कार्यक्रमका साथ शनिबार सम्पन्न भएको हो।

बाल साहित्यमा बाल लोक साहित्यको प्रभाव, अभिभावक र बाल साहित्य, बाल साहित्यमा बालअधिकार र कर्तव्यलगायतका विषयमा कार्यपत्र प्रस्तुति, बाल साहित्य प्रशिक्षण, शिक्षक तथा अभिभावकसँग अन्तक्र्रिया एवम् बालपुस्तकको प्रदर्शनीलगायतका कार्यक्रम गर्दै सम्मेलन सम्पन्न भएको हो।

बालबालिकाको सिर्जनशीलता तथा सीप विकास, बाल साहित्यबारे शिक्षक, अभिभावक तथा विद्यार्थीमा अभिरुचि र चेतना अभिवृद्धि, शिक्षण सीप र विधिबारे जानकारी दिने लक्ष्यका साथ राष्ट्रिय बाल साहित्य सम्मेलन आयोजना गरिएको बाल साहित्य समाजका अध्यक्ष तेजप्रकाश श्रेष्ठले बताउनुभयो। जिल्लास्थित विभिन्न विद्यालयबाट उल्लेख्य संख्याको विद्यार्थीले सहभागिता जनाएको कार्यक्रमले नयाँ उत्साह जगाएको अध्यक्ष श्रेष्ठको भनाइ छ।

कालिका मावि नेर्पा, सरस्वती आधारभूत विद्यालय नेर्पा, सावित्रा मावि बाम्राङ, सितला मावि खाल्ले, पञ्च मावि दिक्तेल, दिक्तेल इंग्लिस बोर्डिङ स्कुल, माउण्ट एभरेष्ट बोर्डिङ स्कुल, युवा वर्ष प्रावि, सरस्वती मावि दिक्तेल, जालपा मावि नुनथला, शुभद्रा–मदन फाउण्डेसन सोल्मालगायतका सयौं छात्र⁄छात्राले बाल साहित्य प्रशिक्षण अन्तर्गत विभिन्न आठ विद्यामा विशेष प्रशिक्षण लिने अवसर पाएका छन्। कविता लेखन प्रशिक्षणमा २६ जना, कथा लेखनमा १९ जना, नाटक मञ्चनमा २७, सिर्जनात्मक लेखनमा २४, रेडियो उद्घोषणमा २४ जना बालबालिकाले प्रशिक्षण लिएका थिए। यस्तै, दैनिकी लेखनमा ११ जना, चित्रकला लेखनमा २९ जना र कथा कविता वाचनमा २१ छात्र⁄छात्रा सहभागी भएका छन्।

छोटै समयमा पनि विषयविज्ञबाट रमाइलो तबरले ज्ञानसीप हासिल गर्न सकेकामा रमाइलो लागेको विभिन्न विधाको अन्तक्र्रियात्मक प्रशिक्षणमा सहभागी विद्यार्थीहरूको प्रतिक्रिया छ। सहभागी बालबालिकाले आफूले उक्त कार्यक्रममा सिकेको र बुझेको कुराहरू व्यवहारमा लागू गर्ने जनाएका छन्।

बाल साहित्य सम्मेलन जिल्लामा आयोजना हुनु गौरवको विषय भएको नगरपालिकाको मेयर दिपनारायण रिजालले बताउनुभयो। बाल साहित्यको दायरा र औचित्यलाई हामीले साँघुरो हिसाबले बुझिरहेकोमा यस सम्मेलनबाट यसको व्यापकतालाई बुझ्ने मौको मिलेको रिजालको भनाइ छ।

विद्यार्थीको रुचि र क्षमताको आधारमा विधागत हिसाबले अन्तक्र्रियात्मक प्रशिक्षणका लागि छनोट गरिएकोले उक्त कार्यक्रममा सिकेका कुराहरू सहभागीले तत्कालै व्यवहारमा लागू गर्ने शिक्षकहरूले बताएका छन्।