गाइको मासु भाग लगाउँदै गर्दा पक्राउ

0
Shares

हेटौंडा । संरक्षित बन्यजन्तु गौरी गाई मारेर मासु भाग लगाउने तयारी गर्दागर्दै पर्सा बन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले मकवानपुरको मनहरी गाउँपालिकाबाट चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मुलखोलाका ५८ वर्षीय मानबहादुर मुक्तान, ३६ वर्षीय लालबहादुर थिङ, ३४ वर्षीय सूर्यबहादुर गोले र ५४ वर्षीय सिंगराम स्यांतान छन् । मध्यवर्ती क्षेत्रमा पर्ने मनहरी गाउँपालिका–४, मुलखोलाबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

गौरी गाई मारेर मासु काटिरहेको अवस्थामा मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अध्यक्ष पदमबहादुर तितुङ नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुका साथमा गौरी गाईको ३ क्वीन्टल मासु, मासु काट्न प्रयोग भएका हतियारहरु बरामद भएको समितिका अध्यक्ष तितुङले जानकारी दिनुभयो ।

शुक्रबार दिउँसो पक्राउ परेका उनीहरुलाई पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभार, बारामा बुझाइएको समितिका अध्यक्ष तितुङले बताउनुभयो । तितुङका अनुसार गाउँमा १ सय जनाको हाराहारीमा मानिस भेला भएर गौरी गाई मारेर मासु काटिरहेका थिए ।
नेपाली सेनासहित टोली पुग्नासाथ गाउँलेहरु भागेका थिए । घटनाबारे अनुसन्धान भइरहेको र पक्राउ परेकाहरुलाई राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐनअन्तर्गत् मुद्धा चलाउने तयारी भइरहेको बताइएको छ ।

यो गौरी गाईको समागमको समय हो । गौरी गाईको साँढे लाग्ने समय पुसदेखि चैतसम्म हो । सबै गौरीगाई एकै समूहमा बस्दैनन् । हरेक समूहमा एकै परिवारका करिब ८–१० सदस्य हुन्छन् र नजिकका धेरै हुँदा २० सम्म सदस्य हुन्छन् ।

सन् २००७ अप्रिलमा चितवन राष्ट्रिय निकुञ्जको गौरी गाई पाइने क्षेत्रमा ठाडो गणना गर्दा ५९ भाले, १ सय १५ गाई, ५६ वटा लिंग छुट््याउन नसकिएका किशोरकिशोरी र ६६ बाच्छाबाच्छी समेत २ सय ९६ वटा गौरी गाई रहेको पत्ता लागेको थियो ।