ग्रामीण महिलालाई सिप सिकाउने पुस्तकालयको अभियान

0
Shares

चिरञ्जीवी मास्के, दोलखा । हामी पुस्तकालय किन धाउछौ ? जवाफ सहज छ – बिभिन्न पुस्तक पढेर ज्ञान आर्जन गर्नको लागि ।
तर अव यो जवाफमा केहि परिमार्जन आवश्यक भएको छ । दोलखा सदरमुकाम चरिकोटमा रहेको गौरीशङ्कर सामुदायीक पुस्तकालयले बिभिन्न नयाँ नयाँ पुस्तक बढेर ज्ञान आर्जन गर्ने व्यवस्थामात्र गरेको छैन बिभिन्न सिप दिएर ग्रामीण महिलाहरुलाई व्यवसायी समेत बनाउदै छ ।
एएसवी नेपाल र रिड नेपालको सहयोगमा गौरीशङ्कर सामुदायीक पुस्तकालयले मखमलको जुत्ता सिलाउने, च्याउ खेति गर्ने, बाख्रा पालन गर्ने जस्ता सिपमूलक तालिम समेत सञ्चालन गर्दै आएको छ । पुस्तकालयले सदरमुकाम चरिकोटमा सञ्चालन गरेको मखमलको जुत्ता सिलाउने तालिमका सहभागिहरुले पुस्तकालयले घरेलु महिलाहरुलाई लक्षित गरेर तालिम आयोजना गरी राम्रो सुरुवात गरेको उल्लेख गर्दै आफुहरुले सिकेको सिपलाई उपयोग गर्दै व्यवसाय सञ्चालन गर्ने बताए ।

दोलखामा राम्रो नाम कमाएको शुभेच्छा होटलको सञ्चालक नविना लामा अहिले मखमलको जुत्ता सिलाउन सिकेको र नयाँ व्यवसाय समेत गर्ने सोचमा रहेको बताउनु हुन्छ । होटल व्यवसाय र अन्य कामबाट बचेको समय सदुपयोग गर्दा पनि दैनिक १० वटासम्म जुत्ता सिलाउन सकिने रहेछ नविनाले भन्नु भयो – दैनिक ५ सय कमाई हुदा पनि घर खर्चमा सहज हुन्छ ।
गौरीशङ्कर सामुदायीक पुस्तकालयले एएसबी नेपाल र रिड नेपालको सहयोगमा सञ्चालन गरेको १७ दिने मखमलको जुत्ता सिलाउने तालिममा सहभागि भै व्यवसाय गर्ने सोचमा रहनु भएको नविना मखमलको जुत्ता जाडो सिजनमामात्र जाने भएकोले व्यवसायको लागि फित्तावाल चप्पल सिलाउने तालिम समेत आवश्यक हुने बताउनु हुन्छ ।

तालिममा सहभागि भीमेश्वर नगरपालिका वडा नम्बर ३ को अस्मीता अधिकारी मखमली जुत्ताको तालिम निक्कै उपलब्धि मूलक रहेको बताउनु हुन्छ । १७ दिनको छोटो समयमा निक्कै कुरा सिकेको र अब व्यवसायीक रुपमा मखमली जुत्ता बनाउन सुरु गर्ने अधिकारी बताउनु हुन्छ । घर व्यवहारको कामबाट मिलेको फुर्सदलाई सदुपयोग गरेर जुत्ता सिलाउदा पनि राम्रै आम्दानि हुनसक्ने अधिकारीको भनाई छ ।
गौरीशङ्कर सामुदायीक पुस्तकालयले तालिमका सहभागि १७ जना महिलाहरुको तीन वटा समूह बनाई सामूहिक रुपमा व्यवसाय गर्न सहयोग गर्ने अध्यक्ष कृष्ण वस्नेत बताउनु हुन्छ । तालिमको लागि ल्याईएको दुई वटा मेशिन समूहलाई दिने र थप सहयोग तथा बजारको व्यवस्थापन समेत पुस्तकालयले गरिदिने वस्नेतको भनाई छ ।

तालिम समापन कार्यक्रममा सहभागि प्रदेश सांसद पशुपति चौलागाईले गृहिणीहरुलाई बचेको समयमा व्यवसाय गर्ने बाताबरण बनाउन स्थानिय सरकारले विशेष कार्यक्रम ल्याउनु पर्ने र त्यसमा प्रदेश सरकारले समेत सहयोग गर्ने बताउनु भयो । भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले घरेलु उद्योगको विकास र प्रवद्धनको लागि नगरपालिकाले विशेष कार्यक्रम ल्याउने र घरेलु उत्पादनका सामानको कच्चा पर्दाथ तथा बजारकिरणको लागि सहयोग गर्ने बताउनु भयो ।

तालिमका प्रशिक्षक विरेन्द्र बोगटी छोटो समयको तालिममा पनि सहभागिहरुले राम्रोसंग सिप सिकेको र गुणस्तरीय जुत्ता बनाएको बताउनु हुन्छ । सिपलाई निरन्तरता दिएर व्यवसायीक रुपमा काम गरे बजार र कच्चा पर्दाथको समस्या नहुने र बचेको समयमा काम गर्दा पनि राम्रो आम्दानि हुने प्रशिक्षक बोगटी बताउनु हुन्छ ।

मखमलको जुत्ता बनाउन १ सय ४० रुपैयाको कच्चा पर्दाथ र ६० रुपैया ज्याला लाग्ने बोगटीको भनाई छ । त्यसरी उत्पादन गरिएको जुत्ता जरी भरेको ३ सयसम्ममा र साधा २ सय ५० रुपैयासम्ममा सजिलै बिक्रि हुने व्यवसायीहरु बताउछन् ।