नाम मिलेकै आधारमा निर्दोषलाई जेल



शालिकराम चालिसे, नुवाकोट । नाम मिलेकै आधारमा नुवाकोट प्रहरीले निर्दोष व्यत्तिलाई जेल चलान गरेको छ ।

प्रहरीले लिखु गाउँपालिका वडा नम्बर ६ का प्रेमबहादुर लामालाई नाम मिलेकै आधारमा जेल चलान गरेको हो । नाम मिलेकै आधारमा लामा विगत ८ दिनदेखि विदुर कारागारमा सजाया भोगीरहेका छन । चोरी मुद्दा लागेका ‘चतुरे’ सँग नाम जुधेकाले प्रेमबहादुर जेल परेका हुन् ।

लिखु गाउँपालिका ६ धोक्रेका चतुरे तामाङलाई पक्राउ गर्न गाउँ पुगेको प्रहरीले निर्दोष प्रेमबहादुरलाई पक्राउ गरी थुनामा राखेको हो ।

घरमा प्रहरी आई नागरिकता नहेरी, सोधपुछ नगरी, पक्राउ पुर्जी नै नदिई प्रहरीले पक्रेर लएको प्रेमबहादुरका छोरा श्याम लामाले गुनासो गरे । प्रहरीले खोजेका वास्तविक चतुरे भने गाउँमै छन् । १९ वर्षअघि चतुरे तामाङलाई चोरी मुद्दा लागेको थियो ।

चोरी मुद्दामा नुवाकोट जिल्ला अदालतले २०५५ साल असार ७ मा चतुरेलाई एक महिना १५ दिन कैद र ८ सय ८५ रुपैया जरिबाना फैसला गरेको सुनाएको थियो ।
मुद्दा फैसला कार्यान्वयनका लागि चतुरे खोज्दै जाँदा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । सादा पोसाकमा पुगेका प्रहरीले हचुवाका भरमा पक्राउ गर्दा निर्दोष चतुरे जेल बस्न बाध्य भएका हुन ।

यसरी भएको थियो
नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ६ मा प्रेमबहादुर लामाको गाउँतिर बोलाउने नाम ‘चतुरे’ हो । उनको घरदेखि १५ मिनेट माथि चतुरे तामाङको घर छ । तर, प्रहरीले गाउँलेलाई चतुरे नाम सोधेर प्रेमबहादुरलाई पक्राउ गरेको स्थानियवासीहरुको भनाइ रहेको छ । उनलाई घर बनाउँदै गरेको समयमा सादा पोसाकमा मोटरसाइकलमा पुगेका दुईजना प्रहरीले ‘एकछिन चौकी जाऊँ, सानो काम छ । आजै फर्केर आउनुहोला’ भन्दै मोटरसाइकलको बीचमा राखी सदरमुकाम लगेको छोरा श्यामले बताए ।

गाउँमा देखिएका नचिनेका मानिस आएर ‘तपाईंको नाम चतुरे हो ? भनेर सोध्दा इन्जिनियरहरु घरको निरीक्षण गर्न आए भन्ठानेर हो भन्ने जवाफ दिँदा सादा पोसाकका पुलिस पो रहेछन प्रेमबहादुरका छोराले भने । केही काम छ, हामीसँगै जाऊँ भनेर मोटरसाइकलमा राखेर सदरमुकाम लगेछन र१५ गते जेलचलान गरिए छ स्थानीयबासीले भने । गाउँलेले सोधखोज गरी बुझ्दा चोरी मुद्दामा १९ वर्षअघिको मुद्दा फैसला कार्यान्वयनका क्रममा ‘चतुरे’ लाई नाम मिलेकै आधारमा पक्राउ गरिएको रहेछ ।

नाम मिलेकै आधारमा वावुलाई पक्राउ गरिएको भन्दै प्रेमबहादुरका छोरा प्रहरीचौकी पुगेका छन् । प्रहरीले लामाले आफू चतुरे भएको स्वीकार गरेकाले पक्राउ गरेको र एक महिना जेल राख्नुपर्ने उत्तर दिएको छ । कुनै पनि अभियोग नगरेको व्यक्ति जेलचलान भएको भन्दै उनका छोराले कानुन व्यवसायीको सहयोगमा फागुन १६ मा नुवाकोट जिल्ला अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता गरेका छन । तर न्यायाधीश बिदामा बसेका कारण मुद्दाको सुनुवाई अझैसम्म पनि हुन सकेको छैन ।

लिखु गाउँपालिका ६ का वडा अध्यक्ष हरिशरण लामिछानेले पनि चतुरे लामा भन्ने अर्को व्यक्ति भएको बताए । ‘अदालतको फैसलाअनुसार प्रहरीले समातेर लगेको रहेछन । सोझो भएका कारण फसाइएछ वडाअध्यक्षले लामीछानेले भने । बोलीचालीको नाम चतुरे भएका कारण इमाादार, अनपढलाई फसाइएको छ प्रेमबहादुरलाई न्याय दिलाउन आफुले पहल गर्ने उनले बताए ।

तर जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख तथा प्रहरी निरिक्षक प्रमुख वसन्तबहादुर कुँवरले स्थानीयबनसीले ‘चतुरे’ नाम गरेका उनी भएकाले पक्राउ गरिएको जानकारी दिए । ‘अदालतले पक्राउ गर्न पठाएर हामीले ल्याएका हौं । उनी दोषी नदेखिएमा अदालतले नै न्याय दिने प्रहरी प्रमुख कुवरले बताए ।

प्रतिक्रिया दिनुहोस्