पत्रकारितामा लैंगिक संवेदनशीलताको खाँचो

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
महिलाविरुद्ध हुने विभेद अन्त्यका लागि पत्रकारितामा लैंगिक संवेदनशीलताको खाँचो एक कार्यक्रमका वक्ताहरूले व्यक्त गरेका छन्।

१०८औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबु महिला विभागले मंगलबार राजधानीमा आयोजना गरेको पत्रकारितामा लैंगिक संवेदनशीलता विषय अन्तरक्रिया कार्यक्रममा उनीहरूले सो खाँचो औंल्याएका छन्।

लैंगिक विभेद अन्त्यका लागि सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका हुने भएकाले लैंगिक संवेदनशीलताको विषयमा सञ्चारमाध्यम उदाहरण भएर निस्किनुपर्ने पनि उनीहरूको जोड रहेको छ। सो अवसरमा विषयमाथि केन्द्रित हुँदै नेपालभाषाको दैनिक पत्रिका नेपाल भाषा टाइम्सका सम्पादक एवं वरिष्ठ पत्रकार सुरेशकिरण मानन्धरले अरू क्षेत्रलाई जवाफदेही बनाउने सञ्चारमाध्यम स्वयंले लैंगिक संवेदनशीलता अपनाउनुपर्नेमा जोड दिनुभयो।

सञ्चारमाध्यममा महिलाको समाचारले कम मात्र स्थान पाउने गरेको उल्लेख गर्दै सम्पादक मानन्धरले महिलाको समाचार बने पनि दुव्र्यवहार, बलात्कार र घरेलु हिंसाको समाचार मात्र बन्ने गरेको उल्लेख गर्दै महिलाका राम्रा समाचारहरूले अपेक्षाकृत स्थान नपाएको बताउनुभयो।
समाचार लेख्ने क्रममा महिला स्रोतहरूलाई आवश्यकताअनुसार प्रयोग गर्दा फरक तथ्य र महिलाका दृष्टिकोणले पनि समाचारमा स्थान पाउने पनि उहाँको भनाइ रहेको छ। लैंगिक संवेदनशीलता पुरुष पत्रकारमा पनि हुनुपर्दछ। ‘यसले समाचारको अन्तरवस्तु र कार्यस्थलमा लैंगिकमैत्री वातावरण तयार गर्न सहयोगी भूमिका निर्वाह गर्नेछ।’ –सम्पादक मानन्धरले भन्नुभयो।

राससका पूर्वमहाप्रबन्धक एवं क्रियाशील महिला पत्रकार मञ्चका उपाध्यक्ष निर्मला तुलाधर आचार्यले महिलालाई हेर्ने सामाजिक दृष्टि र बुझाइसँगै पेसागत संवेदनशीलता नबुझ्दा पत्रकारितामा प्रवेशसँगै छोडेर जाने महिलाको संख्या उत्तिकै रहेको जानकारी दिनुभयो।‘

‘घर–परिवार र बालबच्चा हुर्काउनुपर्ने कारणले गर्दा पनि पत्रकारिता पेसा छोड्ने महिलाको संख्या बढी रहेको छ। यसले गर्दा महिला पत्रकार बारे घर–परिवार र कार्यस्थलमा संवेदनशीलताको खाँचो रहेको छ।’ –उपाध्यक्ष आचार्यले भन्नुभयो। सो अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबुका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनले महिलाको विषयको समाचारलाई पुरुषको दृष्टिले नभई महिलाको दृष्टि, महिलालाई पार्ने प्रभाव विषयमा पत्रकारहरू पनि संवेनशील हुनुपर्ने बताउनुभयो।

कार्यक्रम संयोजक एवं रेडियो नेपालका समाचारवाचिका रचना श्रेष्ठले विभिन्न सञ्चारमाध्यममा महिला पत्रकारमैत्री संरचना र व्यवहार नभएको उल्लेख गर्दै सञ्चार संस्था, प्रकाशन र सम्पादकहरू यस विषयमा गम्भीर हुनुपर्नेमा जोड दिनुभयो।

विभिन्न सञ्चारमाध्यमका पत्रकार उपस्थिति सो अन्तरक्रिया कार्यक्रममा रेडियो नेपालका सञ्चारकर्मी चन्दा विष्टले महिलालाई चरित्र हत्यासँग जोडेर मनोबल कमजोर पार्ने खेल जुनसुकै पेसामा हुने गरेको चर्चा गर्दै यसको अन्त्यका लागि लैंगिक संवेदनशीलताको खाँचो औंल्याउनुभयो। आर्थिक सुनिश्चितता नभएकाले पनि महिला पत्रकारितामा टिक्न नसकेको उहाँको कथन रहेको छ।