एमालेले किन डाक्यो स्थायी समिति बैठक ?



काठमाडौं । नेकपा एमालेले राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन मंगलबार स्थायी समितिको बैठक बोलाएको छ ।

फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको टुंगो आज बस्ने बैठकमा लाग्न सक्ने एमालेका एक नेताले बताए । यसै गरी बैठकमा सरकार विस्तारलगायतका समसामायिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै दोर्होयाउने कि नयाँ उम्मेदवार बनाउने भन्नेबारेमा एमालेभित्र छलफल जारी छ । राष्ट्रपतिमा वरिष्ठ नेता झलनाथ खनाल पनि इच्छुक देखिएपछि एमालेमा उम्मेदवार चयन गर्नैपर्ने बाध्यता देखिएको हो ।

स्थायी समितिका नेताहरू वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोर्होयाउने कि नयाँ उम्मेदवार अघि सार्ने भन्ने दुई कित्तामा उभिएका छन् । केही नेताहरुले वरिष्ठ नेता झलनाथ खनाललाई राष्ट्रपति बनाउन लबिङ गरिरहेका छन् भने केहीले भण्डारीलाई दोहोर्याउन पर्नेमा जोड दिएका छन् ।

वरिष्ठ नेता खनालले सार्वजनिक रूपमै आफू राष्ट्रपतिको उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । उनले निकटस्थ नेताहरूलाई यसपटक ‘ब्याक’ नहुने भन्दै स्थायी समितिमा भोटिङको स्थिति आए पनि सामना गर्न तयार रहेको स्रोतको भनाइ छ । खनाल अघिल्लोपटक पनि राष्ट्रपतिको आकांक्षी थिए ।

उपाध्यक्ष वामदेव गौतमको केही समययता अध्यक्ष ओलीसँगको सम्बन्धमा चिसोपन बढेपछि उनी पनि खनाललाई राष्ट्रपति बनाउन लागेको उनी निकट स्रोतले बतायो ।

प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबाट पुनः अवसर दिने ‘ग्रिन सिंग्नल’ पाइसकेकी राष्ट्रपति भण्डारीको पनि सक्रियता बढेको छ । उनले टेलिफोन र निकटस्थ नेताहरूमार्फत ‘लबिङ’ तीव्र पारेकी छिन् ।

खुला लबिङ गर्दा पदीय मर्यादामा आँच पुग्ने भएकाले भण्डारीले भित्र–भित्रै टेलिफोन र निकटस्थ नेताहरूमार्फत सक्रियता बढाइकी हुन् । उनी ओली र नेता माधवकुमार नेपालको सहयोगमा पुनः दोहोरिनेमा ढुक्क छिन् ।

यता २६ जनाको स्थायी समितिमा २२ जनाले मात्र निर्णय प्रक्रियामा भाग लिन पाउँछन् । केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा, पदेन सल्लाहकार समिति अध्यक्ष केशव बडाल, लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल र निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासी आमन्त्रित स्थायी समिति सदस्यको हैसियतमा मात्र बैठकमा सहभागी हुन पाउनेछन् । वतर्मान राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री ओलीको समर्थन रहेकाले मतदानको अवस्था आएका उनको पक्षमा १० नेता उभिने देखिन्छ ।

यसै गरी खनालको पक्षमा उपाध्यक्ष गौतमसहित १० सदस्य छन् । अर्का वरिष्ठ नेता नेपालनिकट अधिकांश नेता खनाललाई समर्थन गर्न तयार देखिएका छन् । पार्टीभित्र राष्ट्रपति बन्न योग्य धेरै नेताहरु रहेको र खनाल वरिष्ठ र सबैको सम्मानीत भएकाले उपयुक्त हुने एक नेताले दाबी गरे ।

बैठक अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्