राष्ट्रपति र उपराष्ट्रपतिमा पुरानै



मधुसूदन रायमाझी, काठमाडौं

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिलाई पुनः दोहोर्याउने तयारी गरेका छन्। दुई दलबीच राष्ट्रपति र उपराष्ट्रपतिलाई नै निरन्तरता दिने भद्र सहमति भएको छ। एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनलाई नै निरन्तरता दिने सहमति भएको बताइएको छ।

एमालेबाट वरिष्ठ नेता झलनाथ खनालले पनि राष्ट्रपति बन्नका लागि दौडधुप गरिरहनुभएको छ। तर ओली र प्रचण्डबीच पद बाँडफाँडमा सहमति भइसकेकाले खनाल राष्ट्रपति बन्ने सम्भावना न्यून बन्दै गएको एमालेका एक नेताले बताए। ती नेताले भने– ‘पार्टीभित्र अहिलेकै राष्ट्रपति भण्डारीलाई दोहोर्याउने कि खनाललाई अगाडि बढाउने भन्ने विषयमा निर्णय नभए पनि अध्यक्ष ओली दोहोर्याउने पक्षमा देखिनुहुन्छ।’

एमालेभित्र खनाल पक्षका नेताहरूले पुनः भण्डारीलाई राष्ट्रपति बनाउन नहुने दबाब अध्यक्ष ओलीमाथि दिएका छन्। सरकार गठन पूर्व नै राष्ट्रपति भण्डारीले ओली र प्रचण्डलाई लन्च डिनरमार्फत पुनः

राष्ट्रपतिमा दोहोरिनका लागि लबिङ गर्नुभएको थियो। भण्डारीले प्रधानमन्त्री ओलीलाई मात्र नभई प्रचण्डलाई समेत विश्वासमा लिएको कारण भण्डारी नै पुनः राष्ट्रपति हुने सम्भावना बलियो रहेको बताइएको छ।

दोस्रो संविधानसभा निर्वाचनपछि भण्डारी राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो। कार्यकाल छोटो भएकाले एक कार्यकाल आफूले निन्तरता पाउनुपर्ने पक्षमा भण्डारीले लबिङ गर्दै आउनुभएको छ। अब राष्ट्रपति बनेको अवस्थामा पाँच वर्षे कार्यकाल रहनेछ।

पहिलो संविधानसभा निर्वाचनपछि राष्ट्रपति बन्नुभएका पूर्वराष्ट्रपति डा. रामवरण यादव सात वर्ष राष्ट्रपति बन्नुभएको थियो। संविधानसभाबाट संविधान जारी भएपछि स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएर केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन भइसकेको छ। परिवर्तित सन्दर्भमा उच्च ओहोदामा नयाँ अनुहार आउनुपर्ने माग पनि उठेको छ।

राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति पनि दोहोरिने निश्चित भएको बताइएको छ। माओवादीबाट उपराष्ट्रपति बन्नुभएका नन्दबहादुर पुन पनि एक कार्यकाल आफूले पाउनुपर्ने लबिङमा रहनुभएको छ।

उहाँले राष्ट्रपति दोहोरिँदा आफूले पनि उपराष्ट्रपतिमा निरन्तता पाउनुपर्नेमा माओवादी केन्द्रका शीर्ष तहमा दबाब दिनुभएको छ। पुनलाई नै पुनः उपराष्ट्रपति बनाउन प्रचण्डसमेत सकारात्मक रहनुभएको बताइएको छ। मुलुकले पुनः राष्ट्रपति र उपराष्ट्रपति पुरानै अनुहारको पाउने भएको छ।

एमालेले राष्ट्रपतिको उम्मेदवार चयन सम्बन्धमा छलफल गर्नका लागि आज (मंगलबार) पार्टी स्थायी समितिको बैठक बोलाएको छ। बैठकले कसलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भन्ने विषयमा निर्णय गर्नेछ।

प्रतिक्रिया दिनुहोस्