संसदीय दलको नेतामा देउवा



रामकृष्ण चापागाईं, काठमाडौं

नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा चुनिनुभएको छ। हिजो सोमबार भएको निर्वाचनमा पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई पराजित गर्दै सभापति देउवा संसदीय दलको नेतामा निर्वाचित हुनुभएको हो। निर्वाचनमा देउवाले ४४ र सिंहले १९ मत प्राप्त गर्नुभएको थियो।

प्रतिनिधिसभामा कांग्रेसको ६३ सदस्य छन्। राष्ट्रियसभाका सदस्य पनि संसदीय दलको सदस्य हुने भए पनि संसदीय दलको नेता छनोटमा प्रतिनिधिसभाका सदस्यमात्र मतदाता हुने व्यवस्था छ। संसदीय दलको नेतामा ४४ मतका साथ देउवा विजयी भएको निर्वाचन समितिका संयोजक चीनकाजी श्रेष्ठले जानकारी दिनुभएको थियो।

यसअघि पनि संसदीय दलको नेतामा देउवा नै निर्वाचित हुनुभएको थियो। सदनमा प्रमुख प्रतिपक्षको भूमिकामा रहेको कांग्रेस संसदीय दलको नेता संवैधानिक अंगको सदस्यसमेत हुने व्यवस्था छ। संसदीय दलको नेताले नै दलको उपनेता, प्रमुख सचेतक, सचेतक मनोनित गर्ने व्यवस्था छ।
संसदीय दलको नेतामा निर्वाचित भएलगत्तै सभापति देउवाले दलको उपनेतामा विजयकुमार गच्छदारलाई मनोनित गर्नुभएको छ।

गच्छदारको दल निर्वाचन अघिमात्र कांग्रेसमा समाहित भएको थियो।
संसदीय दलको विधानअनुसार नेताको अनुपस्थितिमा उपनेताले संसदीय दल र कार्यसमिति बैठकको अध्यक्षता गर्नेछन्। साथै नेताको अनुपस्थितिमा संसदीय दल र संसद्मा तत्काल गर्नुपर्ने कार्यका लागि उपनेताले संसदीय दलका अन्य पदाधिकारीसँग समन्वय गरी आवश्यक निर्णय गर्ने अधिकार उपनेतालाई दिइएको छ। नेतामाथिको अविश्वास प्रस्तावमा छलफल र निर्णय हुने बैठकको अध्यक्षता पनि उपनेताले गर्ने विधानमा उल्लेख छ।

सभापति देउवा दलको नेतामा निर्वाचित भएसँगै प्रमुख सचेतक को बन्ने भन्ने चर्चा चल्न थालेको छ। देउवाले भने मुख्य सचेतक पनि छिट्टै मनोनित गर्ने बताउनुभएको छ। दलको नेतामा निर्वाचित भएलगत्तै सभापति देउवाले संसदीय दलको बैठक राख्नुभएको थियो। बैठकमा निर्वाचनमा भाग लिने सबै मतदातालाई धन्यवाद दिँदै उहाँले संसदीय दलका सदस्यहरूलाई अध्ययनशील बन्न र सदनमा प्रभावकारी भूमिका निभाउन निर्देशन दिनुभएको थियो।

संसदीय दलका सदस्य मीन विश्कर्माले जानकारी दिए अनुसार बैठकमा दलका नेता देउवाले आफ्ना सबै सदस्यहरूलाई संसद्मा प्रभावकारी रूपमा रचनात्मक भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको थियो। साथै उहाँले सबै सदस्यहरूलाई संसद् बैठकमा नियमित उपस्थित हुन पनि निर्देशन दिनुभएको थियो।

कांग्रेस संसदीय दलको विधानमा संसदीय दलको नेताले पार्टीका राष्ट्रियसभाका सदस्यमध्येबाट एक जनालाई राष्ट्रियसभा संसदीय दलको नेता मनोनित गर्ने व्यवस्था गरिएको छ। राष्ट्रियसभामा पनि प्रमुख प्रतिपक्षको भूमिकामा रहेको कांग्रेसका १३ जना सदस्य छन्।

कांग्रेसका वरिष्ठ नेता पौडेल पक्षका सांसदलाई मुख्य सचेतक बनाउनुपर्ने माग उठे पनि सभापति देउवाले आफू निकटकै सांसदलाई मुख्य सचेतक बनाउने तयारी गर्नुभएको देउवानिकट स्रोतले जानकारी दिएको छ।
सांसद भीमसेनदास प्रधानका अनुसार संसदीय दलको नेतामा सर्वसम्मति गर्न मुख्य सचेतकमा पौडेल पक्षका सांसदलाई मनोनित गर्ने प्रस्ताव अस्वीकार गरेर प्रकाशमान सिंह दलको नेतामा उम्मेदवार बनेपछि उहाँहरूको पक्षले मुख्य सचेतक पाउने सम्भावना कम छ। संसदीय दलमा मुख्य सचेतकको जिम्मेवारी महत्त्वपूर्ण छ।

प्रतिक्रिया दिनुहोस्