क्षेत्रीय सहकार्य प्रभावकारी बनाउन पाकिस्तानको प्रस्ताव



टीका बन्धन, काठमाडौं

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सम्मेलनको नयाँ मिति तय गर्न र सार्कका गतिविधि प्रभावकारी बनाउने बारेमा प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका पाकिस्तानी समकक्षी साहिद खाकान अब्बासीबीच छलफल भएको छ।

क्षेत्रीय सहकार्यलाई प्रभावकारी बनाउन सार्क सदस्य राष्ट्रबीच रहेका असमझदारी हटाउँदै अघि बढ्नुपर्नेमा दुवै प्रधानमन्त्रीहरू सकारात्मक बन्नुभएको छ। यसअघि सन् २०१६को नोभेम्बर ९ र १० तारिखका लागि पाकिस्तानमा तय भएको सार्कको १९औं सम्मेलन भारत–पाकिस्तान सम्बन्धका कारण स्थगित भएको थियो।

भारतसहित केही मुलुकले अन्य मुलुकमा भए पनि सम्मेलन गर्ने सकिने बताइरहेका बेला १९औं सम्मेलनका लागि आफ्नो मुलुक प्रतिबद्ध रहेको पाकिस्तानले बताउँदै आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन आउनुभएका पाकिस्तानी प्रधानमन्त्री अब्बासीले आर्थिक समृद्धि र क्षेत्रीय सहकार्यका लागि सार्कले गति लिनुपर्ने बताउनुभएको बताइएको छ। सोमबार साँझको द्विपक्षीय भेटवार्तामा यस्तो छलफल भएको हो।

दुवै प्रधानमन्त्रीबीच द्विपक्षीय आर्थिक सहयोगका कार्यक्रम बढाउन शिक्षा, पर्यटन, व्यापार, सुरक्षाजस्ता आपसी सहयोगका विषयमा छलफल भएको काठमाडौंस्थित पाकिस्तानी दूतावास स्रोतले जनाएको छ। द्विपक्षीय सहयोगका क्षेत्र पहिचान गर्दै उच्चस्तरीय भ्रमण आदानप्रदान गर्नेबारेमा पनि उहाँहरूबीच छलफल भएको छ। यही क्रममा पाकिस्तानी प्रधानमन्त्री अब्बासीले आफ्ना समकक्षी ओलीलाई भ्रमणको निम्तो दिनुभएको छ।
सो निम्तोलाई सकारात्मकरूपमा लिँदै ओलीले उपयुक्त समयमा भ्रमण गर्ने बताउनुभएको ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो।

नेपाल विकास र लोकतन्त्रलाई सुदृढीकरण गर्दै आर्थिक विकासको अभियानमा अघि बढिरहेको ओलीले अब्बासीलाई बताउनुभएको थियो। सो भेटवार्तामा अर्थमन्त्री युवराज खतिवडा, परराष्ट्र सचिव शंकर दास बैरागी, मुख्य सचिव लोकदर्शन रेग्मीलगायत सहभागी हुनुहुन्थ्यो।

भेटवार्तापछि प्रधानमन्त्री ओलीले अब्बासीको सम्मानमा आयोजना गर्नुभएको रात्री भोजमा पूर्वप्रधानमन्त्रीहरू लोकेन्द्रबहादुर चन्द, झलनाथ खनाल, माधवकुमार नेपाललगायत अन्य नेताहरू पनि सहभागी हुनुहुन्थ्यो। अब्बासीको अहिलेको भ्रमण मुख्यतया सार्कलाई प्रभावकारी बनाउने बारेमा केन्द्रित भएको पूर्वप्रधानमन्त्री चन्दले जानकारी दिनुभयो। ‘क्षेत्रीय सहकार्यका लागि स्थापना भएको सार्कलाई थप प्रभाकारी बनाउन पाकिस्तानले चाहेको छ, यससँगै द्विपक्षीय सहयोग आदान–प्रदानका लागि पनि सो मुलुकको चासो हो।’ –उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो।

अब्बासी ओली प्रधानमन्त्री भएपछि नेपाल भ्रमणमा आउने पहिलो विशिष्ट पाहुनासमेत हुनुहुन्छ। यसअघि गत माघ १८ गते भारतीय विदेश मन्त्री सुष्मा स्वराज नेपाल भ्रमणमा आएर ओलीलाई बधाई दिँदै नयाँ सरकारसँग निकट सम्बन्ध बढाउन छलफल गर्नुभएको थियो। अब्बासी सोमबार अपराह्न पाकिस्तानी सेनाको विशेष विमानबाट ३२ सदस्यीय टोलीसहित नेपाल आउनुभएको हो। उहाँलाई नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा सम्मान गारथ ‘गार्ड अफ अनर’ दिएको छ। सोमबार साँझ पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई नेपाली सेनाको टुकडीले १९ तोपको सलामी दिएको हो।

यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा सेनाले विदेशी विशिष्ट पाहुनालाई त्यस्तो सम्मान दिने गथ्र्यो। त्रिभुवन विमानस्थलमा अब्बासीलाई अर्थ मन्त्री डा. खतिवडा, परराष्ट्र सचिव बैरागी, शिष्टाचार महापाल दीपक अधिकारीलगायतको टोलीले स्वागत गरेको थियो। परराष्ट्र मन्त्रालयका अनुसार पाकिस्तानी प्रधानमन्त्री अब्बासीले आज मंगलबार स्वदेश फर्कनुअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्दै हुनुहुन्छ। उहाँले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटवार्ता गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्