‘चील बाबु’

0
Shares

ललितपुर महानगरका मेयर चिरिबाबु मर्हजन, हिजो–आज स्वदेशभन्दा बढी विदेशतिर रम्न थालेका छन्। जुन महिनामा पनि चील झैं उडेर विदेश पुग्ने भएर हो क्यार, सेवाग्राहीले उनलाई त ‘चील बाबु पो भन्न थालिसकेछन्। गत जेठ ११ गते मेयर भएका उनी त्यसयता ९ पटक त विदेश पुगिसकेका छन्।

जापान, कोरिया, म्यानमार, श्रीलंका पुगेका महर्जनका लागि जापान त पानी पँधेरो नै भएको छ। ५ पटक उनी जापान पुग्या छन्, गत १२ गते त्यता गएका महर्जन अहिले पनि उतै छन्। उनी कहिले कहाँ कुन मुलुक पुगे भनेर कसैले चासो लियो भने नगरपालिकाका कर्मचारी ‘खै कति हो कति, हामीले नै बिर्सिसक्यौं’ पो भन्न थाल्या छन् त।

चिरिबाबु उनै हुन् जो मेयर हुनेबित्तिकै नगरका हरेक सडक र टोललाई चिरिच्याट्ट बनाउछु भनेर उद्घोष गरे। खै कताकता हो, फ्लाई ओभर बनाउछु, केही दिनभित्रै धुलोधुवाँ, ट्राफिकमुक्त नगर बनाउछु भन्ने अनेक योजना सुनाउन पछि परेनन्। तर नगरमा कहीँ कतै केही परिवर्तन देखिँदैन। चिरिबाबु आफैं मात्र चिटिक्क देखिन्छन्।

नगर र नगरबासी चाहिँ कहिले चिरिच्याट्ट पर्ने, प्रष्ट जवाफ चाहियो मेयर ज्यू। यता धुवाँधुलोले दुःख दिएर नगर सुधारका योजना उतै (विदेश)मा बसेर बनाउँदै गर्या हो, फर्कन समय लाग्छ भने लौन यसो खबर गरौं।