साथीले गरे भुजेलको हत्या



काठमाडौं, (नेस)
कमलपोखेरीस्थित सिटी सेन्टरमा एक सुरक्षा गार्डको घाँटी थिचेर हत्या भएको रहस्य खुलेको छ।

टिचिङ अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टले सुरक्षा गार्डका रूपमा कार्यरत २६ वर्षीय रविन खवास भुजेलको घाँटी थिचेर हत्या भएको खुलेको नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष शरणकुमार गुरुङले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

मृत्यु भएको एक घण्टापछि सोही सिटी सेन्टरको पाँच तलाबाट भुजेललाई फ्याँकेको गुरुङले बताउनुभयो। गत शुक्रबार उनकै साथी रुद्र बस्नेतले मादक पदार्थ सेवन गरेपछि पाँचथर घर भई हाल काठमाडौं बस्दै आएका भुजेलको हत्या भएको महानगरीय प्रहरी परिसर काठमामाडौंका डीएसपी मोहनबहादुर थापाले जानकारी दिनुभयो।

मृतक रवीन र अभियुक्त दोलखाका रुद्र २ वर्षदेखि सिटी सेन्टरको विग मुभिज ग्रुप फोर कम्पनीमा सेक्युरिटी गार्डका रूपमा काम गर्दै आएका थिए। घटना भएको दिन दुवै जना ड्युटीमा थिए। डीएसपी थापाले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सिटी सेन्टर बन्द भएपछि मृतक भुजेल र उनकै साथी बस्नेतलाई अत्यधिक मादक पदार्थ लागेको थियो। घाँटी, नाक र मुख थिचेर हत्या भएको सिसी क्यामेराले देखाएको छ। दोषीलाई कर्तव्य ज्यान मुद्दा लाग्नेछ। अझै हामी अनुसन्धानमै छौं।’

एक वर्षदेखि चिनजान भएका दुवैले त्यस दिन मदिरा सेवन गरेको प्रहरी अनुसन्धानमा देखिएको प्रहरीले बताएको छ। उनीहरूले बिहीबार राती ११ बजेसम्म मदिरा खाएको अनुसन्धानमा देखिएको हो। मदिरा खाएपछि रवीनले आफू विदेश जाने योजनामा रहेको कुरा रुद्रलाई सुनाएका थिए। त्यसपछि दुईबीच श्रीमतीको कुरा चलेपछि रवीनले रुद्रलाई श्रीमती छाडेर विदेश जान नहुने सुझाएपछि विवाद भएको खुलेको बुझिएको छ। शुक्रबार बिहान भवनको चौथो तलाबाट खसेको अवस्थामा भुजेलको शव फेला परेको थियो।

प्रतिक्रिया दिनुहोस्