कब्जा जग्गा फिर्ता अभियानमा महानगर



ईश्वरराज ढकाल, काठमाडौं
काठमाडौं महानगरपालिकाले महानगरपालिका क्षेत्रमा विभिन्न व्यक्ति र संघसंस्थाले कब्जा गरेको जग्गा फिर्ता गर्ने अभियान शुरू गरेको छ।

कामपाले आज सोमबारबाट वडा नम्बर ३ महाराजगन्जस्थित राष्ट्रपति कार्यालय अगाडि रहेको होटल काठमाडौंले कब्जा गरेको साढे ६ आना जग्गा आफ्नो नियन्त्रणमा लिन लागेको हो। महानगरले आजबाट शुरू गर्ने ‘सार्वजनिक जग्गा जनताको हितमा’ अभियानअन्तर्गत जग्गा फिर्ता गर्न लागेको हो।

आज विशेष कार्यक्रम आयोजना गरी कब्जा गरेको जग्गा फिर्ता लिने कार्यको शुरुआत गर्न लागिएको वडा अध्यक्ष दीपक केसीले जानकारी दिनुभयो।

‘करिब १० करोड रुपियाँ पर्ने सो जग्गा फिर्ता गरेसँगै अभियानको थालनी गर्नेछौं।’ –अध्यक्ष केसीले नेपाल समाचारपत्रसँग भन्नुभयो। सो वडामा पर्ने रानीवनले चर्चेको १ सय ३६ रोपनी जग्गा कामपाले आफ्नो नाममा ल्याइसकेको छ। सो वन अहिले सार्वजनिक वनका रूपमा परिणत भइसकेको छ। वडाले चालू आवभित्र करिब १ अर्ब रुपियाँ बराबरको सार्वजनिक जग्गा फिर्ता ल्याउने लक्ष्य रहेको जनाएको छ।

त्यस्तै पूर्वशाही पाश्र्ववती भरतकेशरी सिंह अध्यक्ष रहेको विश्व हिन्दू महासंघले कब्जा गरेको २२ रोपनी जग्गा कामपाले फिर्ता लिने तयारी गरेको छ। बाँसबारीमा रहेको सो जग्गा लामो समयदेखि महासंघले कब्जा गरेको थियो।

त्यस्तै गायत्री समाजले कब्जा गरिरहेको ४२ आना जग्गा पनि महानगरले आफ्नो नाममा फिर्ता लिने भएको छ। ‘ती जग्गाको सम्पूर्ण विवरण तयार गरिसकेका छौं, केही दिनमा महानगरको नाममा आउनेछ।’ –वडा अध्यक्ष केसीले भन्नुभयो।

३ वडामा व्यक्ति र विभिन्न संस्थाले कब्जा गरी भोगचलन गरिरहेका सबै जग्गा फिर्ता लिने अभियान सञ्चालन गर्न लागेको अध्यक्ष केसीले बताउनुभयो। यो वडामा करिब २ सय रोपनी जग्गा कब्जा गरेको तथ्यांक फेला पारेको बताउँदै अध्यक्ष केसीले यो वर्षभित्र सबै जग्गा आफ्नो मातहतमा ल्याइने जानकारी दिनुभयो।

खुला क्षेत्रको अभाव भइरहेको महानगरमा कब्जा गरेका सबै जग्गामा सार्वजनिक पार्क निर्माण गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो। कामपाका मेयर विद्यासुन्दर शाक्यले लिखितपत्र पठाएर सबै वडाका सार्वजनिक जग्गा आफ्नो मातहतमा ल्याउन निर्देशन दिएलगत्तै सबै वडा अध्यक्ष कब्जा गरेको जग्गा खोज्न लागिपरेका छन्।

महानगर क्षेत्रमा २ हजार ५ सय ४८ रोपनी जग्गा विभिन्न निकाय र व्यक्तिले कब्जा गर्दै आइरहेका छन्। मेयर शाक्यले कब्जा गरेको सबै जग्गामा पार्कसहित खुला क्षेत्रका रूपमा विकास गरिने जानकारी दिनुभयो।

एउटा वडाले मात्रै होइन सबै वडाले आफ्नो क्षेत्रमा रहेको सार्वजनिक जग्गा खोजी गरी तत्काल पार्कमा परिणत गर्नुपर्छ। कामपाले मालपोत र भूमिसुधार विभागको सहयोगमा सार्वजनिक जग्गा नक्सांकन गरी संरक्षण गर्ने गरेको छ।

भेटाएको जग्गालाई तारबार लगाएर संरक्षण गर्न बजेट विनियोजन गरिसकेको प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताउनुभयो। चार दिनअघि कामपा ११ नम्बर वडाले कुमारी मार्गको करिब १ रोपनी १४ आना २ दाम सार्वजनिक जग्गा रेखाङ्कन गरेको थियो। कामपाले २०७४ सालभित्र कब्जा गरेको सबै जग्गा फिर्ता लिन सबै वडालाई निर्देशन दिइसकेको छ। सोहीअनुसार सबै वडा कार्यालयले सार्वजनिक जग्गाको खोजी शुरू गरिरहेका छन्। महानगरको सबै वडामा सार्वजनिक जग्गा रहेको कामपाको रेकर्ड छ।

प्रतिक्रिया दिनुहोस्