लन्डन, (एजेन्सी)
फेसबुकले गतवर्षको अन्त्यतिर युरोपेली संघ (ईयू)बाट अलिग्गिने ब्रक्जिटका लागि भएको जनमत संग्रहमा प्रभाव पार्न रुसले सामाजिक सञ्जालको प्रयोग गरेको हुन सक्ने सम्भावनाको अनुसन्धान थालेको थियो। उक्त कम्पनीले त्यस्तो कुनै गलत क्रियाकलाप भएको फेला पार्न सकेन। तर हाउस अफ कमनले उसलाई छानबिन जारी राख्न आग्रह गर्यो। अहिले फेसबुकले उसको जाँचको नतिजा बुझाएको छ र फेरि पनि कुनै प्रकारको खेलवाड नभएको निष्कर्ष दिएको छ। उक्त नतिजालाई लिएर बेलायती अधिकारीहरू पुनः असन्तुष्ट बनेका छन्।
फेसबुकले सन् २०१६ मा राष्ट्रपतीय चुनावमा रुसी हस्तक्षेपका पर्दाफास गर्न सफल अनुसन्धानका प्रक्रियालाई नै प्रयोग गरेको थियो। उक्त जाँचमा मतदानमा प्रभाव पार्न र सामाजिक विभाजनका लागि रुससँग सम्बन्धित विज्ञापकहरूले रणनीतिक तवरमा सामाजिक सञ्जालको प्रयोग गरेको पाइएको थियो। फेसबुकले प्रारम्भिक जाँच प्रक्रियालाई पुनः प्रयोग गरिएको भए पनि ब्रक्जिट अभियानसँग जोडिएका तथ्य फेला नपरेको जनाएको छ।
बेलायती प्रतिनिधिसभा हाउस अफ कमन्सको डिजिटल, कल्चर, मिडिया र स्पोर्ट कमिटी (डीसीएमएस)ले थप जानकारीका लागि आग्रह गरेको छ। कमिटीका प्रमुख डेमियन कोलिन्सले एक विज्ञप्ति जारी भनेका छन्– ‘फेसबुकले हामीहरूसँग उसले निलम्वन गरेका सही संख्याका एकाउन्टहरूका बारेमा थप सूचना सार्वजनिक गर्नेछ भन्ने आशा गरेको छु।’
विज्ञप्तिमा नक्कली एकाउन्ट पत्ता लगाउने विधि, तिनीहरूविरुद्ध कारवाही कसरी भएको हो र ती एकाउन्ट बनेका देशको पहिचान कसरी भएको हो भन्ने विषयमा आफूहरूलाई जानकारी दिनेछ भन्ने अपेक्षा गरिएको उल्लेख गरेको छ। फेसबुकले ती थप आँकडा मार्च १४ सम्ममा दिने प्रतिबद्धता व्यक्त गरिसकेको छ।
डीसीएमएसले फेसबुक मात्र नभई ट्विटरसँग पनि दोस्रो पटक छानबिनका लागि अडान राखेको थियो। उक्त सञ्जालले रुसी चलखेल भएको प्रमाण फेला पारेको थियो। फेसबुकलाई उक्त ताजा आग्रह रुसमाथि बेलायती सरकारले गत ग्रीष्ममा साइबर आक्रमण भएको आरोप लगाएको केही हप्ता नबित्दै गरिएको हो।











प्रतिक्रिया