३३ किलो सुन हराएपछि तस्करी गर्ने युवक नै मारिए



नेपाल समाचारपत्र
काठमाडौं
सुन तस्करीको विवादमा एक युवकको अपहरणपछि हत्या भएको छ। तस्करी गरिएको ३३ केजी सुन लुकाएको भन्दै मोरङ उर्लाबारीका सनम शाक्यको अपहरणपछि हत्या भएको खुलेको हो।

हत्यामा संलग्न ३ जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ। पक्राउ पर्नेमा टेकराज मल्ल, नरेन्द्र कार्की र मोहन काफ्ले रहेका छन्।

उनीहरूले अपहरण गरी शाक्यलाई करेन्ट लगाएको र हत्यापछि चारकोसे झाडीमा गाड्ने प्रयास गरेको महाशाखाका एसएसपी दिवेश लोहनीले बताउनुभयो। घटनामा संलग्न तस्करका नाइकेहरूमाथि पनि अनुसन्धान शुरू भइसकेको बताउनुभयो।

डीएसपी प्रजित केसीका अनुसार अभियुक्तमध्येका मल्लले चलाएको बा१२च ५९६३ नम्बरको गाडीमा शाक्यको शव विराटनगरको पोखरीयामा भेटिएको हो। शुक्रबार राति उनीहरूले शव गाड्न लैजाने तयारी गरेका थिए। प्रहरीले पहिले नै सूचना पाएर शव बरामद गरेको हो।

सिरहाको एकान्तस्थलमा लगेर बन्धक बनाई कुटपिटपछि उनको हत्या भएको प्रहरीले जनाएको छ। शव लुकाउन लिएर हिँडेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्। घटनामा संलग्न केही फरार छन्।

हत्या गरिएका शाक्यलाई एक समूहले सुन तस्करीमा प्रयोग गरेको थियो। तर उनले ल्याएको सुन हराएको थियो। त्यसपछि सो समूहले विभिन्न व्यक्तिहरू प्रयोग गरी बन्धक बनाई करेन्ट लगाएर हत्या गरेको थियो। पक्राउ परेका व्यक्तिहरू शव लुकाउने काममा मात्र संलग्न भएका व्यक्ति हुन्। मुख्य नाइकेहरूको खोजी र उनीहरूमाथि अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्