हनुमन्ते खोला सफाई अभियान शुरू

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर
भक्तपुर भएर बग्ने हनुमन्ते खोलाको सरसफाई अभियान शुरू भएको छ। जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले मध्यपुरथिमीको कैशलटारमा शनिबार एक समारोहबीच सफाई अभियानको शुभारम्भ गर्नुभयो। अभियानको उद्घाटन गर्दै मन्त्री पण्डितले वातावरण प्रदूषण गर्ने अब जोकोहीलाई कारबाही गरिने बताउनुभयो।

मन्त्री पण्डितले आगामी वैशाख १ गतेदेखि महानगर तथा उपमहानगरमा हरियो स्टिकर नहुने सवारीसाधनलाई प्रतिबन्द लगाउने बताउनुभयो ।मन्त्री पण्डितले वातावरणको ख्याल नगरी कानुन मिच्दै सञ्चालनमा आएका इँटाभट्टालाई वातावरणमैत्री बनाउने उल्लेख गर्दै गलत ढंगले सञ्चालनमा आएका भट्टालाई कारबाहीको दायरमा ल्याउने तयारी गरेको बताउनुभयो।

फोहोर र प्रदूषणका कारण क्यान्सरजन्य रोग बढ्दै गएको बताउँदै उहाँले अबको एक वर्षमा काठमाडौंमा माक्स लगाएर हिँड्न नपर्ने गरी वातावरण स्वच्छ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले हनुमन्तेमा प्रदूषण बढ्दा ऐतिहासिक भक्तपुरको पहिचान गुम्दै गएको र रोगको संक्रमण बढ्दै गएकाले यसलाई रोक्न हनुमन्ते सरसरफाई अभियान शुरू भएको बताउनुभयो।
आजको सरसफाईमा १० ट्रक फोहोर संकलन त्यसको व्यवस्थापन गरिएको छ।हरेक शनिबार नियमितरूपमा सञ्चालन हुने हनुमन्ते खोला सरसफाई अभियान १ सय हप्तासम्म निरन्तर सञ्चालन गर्ने प्रतिनिधिसभा सदस्य महेश बस्नेतले बताउनुभयो।भक्तपुर क्षेत्र नं २ का प्रदेशसभा सदस्य शशीजंग थापाले खोलामा फोहोर फाल्नेलाई कारबाही गर्ने नीति अघि सार्नुपर्नेमा जोड दिनुभयो।

भेलामा सफाई अभियानका संयोजक एवं सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले हुनमन्ते सफाई अभियानका लागि नगरपालिकाले हरेक प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उपसंयोजक एवं मध्यपुरथिमि थिमि नगरपालिकाका उपप्रमुख अञ्जना मधिकर्मीले अभियानलाई बीचमा रोक्न नहुने र भक्तपुर जिल्लामा पर्ने खोलाको सबै भाग सफाई हुनुपर्ने बताउनुभयो।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले सुरक्षा निकायदेखि जिल्लामा रहेका विभिन्न संघसंस्थाको अभियानमा सहभागिता भएको बताउनुभयो। हुनमन्ते खोलाअन्तर्गत चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाको सीमानामा पर्ने ताथली जोड्ने पुल, ब्रह्मायणीदेखि भक्तपुर, सूर्यविनायक र मध्यपुरथिमि नगरपालिका भएर बग्ने यो खोला ललितपुरको टीकाथली पुलसम्म सरसफाई हुने भएको छ।

सफाई अभियानमा स्थानीय तहका पदाधिकारी, सरोकारवाला निकाय र विभिन्न संघसंस्थाका प्रतिनिधि, सेना, प्रहरी, विद्यार्थीलगायतको बृहत् सहभागिता रहेको थियो।