न्युजिल्यान्डमा बेलायतकी महारानीको हत्या प्रयास

0
Shares

वेलिङ्टन, (एजेन्सी)
सन् १९८१ मा न्युजिल्यान्ड भ्रमण क्रममा बेलायतकी महारानी एलिजावेथ द्वितीयालाई एक जना किशोरले मार्ने प्रयास गरेको आधिकारिक सरकारी दस्तावेजले पुष्टि गरेको छ।

न्युजिल्यान्डको सुरक्षा गुप्तचर सेवा (एसआईएस)ले डुनेडिनको भ्रमणमा रहेका बेला एलिजावेथमाथि सत्र वर्षीय क्रिस्टोफर लेविसले गोली प्रहार गरेको जनाएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार त्यतिबेला प्रहरीले साइनबोर्ड खसेको आवाज गोली चलेको जस्तो सुनिएको भन्दै घटनाको ढाकछोप गरेको जनाएको छ।

भविष्यमा शाही भ्रमण रद्द हुनसक्ने डरले यसरी घटना लुकाइएको बताइएको छ। सन् १९८१ को १४ अक्टोबरमा डुनेडिनमा शाही परेडको अवसरमा प्रहरी र सर्वसाधारणले गोली चलेको आवाज सुनेको न्युज वेबसाइट स्टफले प्राप्त गरेको दस्तावेजमा उल्लेख गरिएको जनाइएको छ।

उक्त घटनाको केही समयपछि नै प्रहरीले लेविसलाई एउटा राइफलसहित पक्राउ गरेको थियो। उनले उक्त परेड आयोजनास्थल अगाडिको घरबाट गोली प्रहार गरेको अनुसन्धानबाट खुलेको थियो।

उक्त दस्तावेजमा लेविसले साँच्चै महारानीको हत्या गर्न चाहे पनि उनीसँग शक्तिशाली राइफल नभएको उल्लेख गरिएको छ। उनीविरुद्ध महारानीको हत्याको नभई हातहतियार दुरुपयोग गरेको अभियोग लगाइएको थियो। एसआईएस पत्रकारहरूले महारानीको परेडसँग लेविसको गिरफ्तारीलाई जोडेर लेख्लान् भनेर समेत डराएको बुझिएको छ।

तत्कालीन प्रहरी अनुसन्धानअनुसार गोली चलेको आवाजलाई अधिकांश पत्रकारले पटाका पड्केको ठानेका थिए। सन् १९९७ मा पूर्वडुनेडिन प्रहरी अधिकारी टम लेविसले न्युजिल्यान्ड सरकारले सो घटनाको ढाकछोप गरेको आरोप लगाएका थिए।