महोत्सबको आकर्षण बन्यो १ सय १२ किलोको बोको



पर्वत,(नेस) ।
रेडियो दिदीबहिनी ९५.२ मेगाहर्ज पर्वतले आयोजना गरेको महोत्सवको एउटा आकर्षण एक सय बाह्र किलो तौल भएको बोको पनि बनेको छ।

महोत्सव अन्तर्गत कृषि प्रदर्शनीमा राखिएको उक्त बोका कुश्मा नगरपालिका वडा नं. ४ मा रहेको बैसरी समूहले पालिरहेको छ।

प्रदर्शनीमा बोका प्रदर्शनका लागि आएका कृषक छविलाल फकामी पुन भन्छन, ‘यो भन्दा केही साना तर सय किलो तौल भएका यस्तै अरु बाह्र ओटा बोकाहरु फर्ममा छन। ती मध्येको ठूलो यो मेलामा राखेका छौँ। महोत्सवमा आएका हरेक जनाले यो बोकाको अवलोकन गर्नुभएको छ। सबैले फोटो पनि खिचेर लग्नुभएको छ।’

साढे दुई बर्ष उमेर पुगेको उक्त बोका जमुनापारी जातको हो। तनहुँको बन्दीपुरबाट सानैमा ल्याईएको उक्त बोकालाई समूह र समूह बाहिरका स्थानीयहरुले ब्याठेको रुपमा पाल्दै आएका छन।

उक्त बोकाको मूल्य हालको बजार मूल्य अनुसार चवालीस हजार आठ सय रुपैयाँ रहेको र सो मूल्य पाएमा बिक्री गर्ने भनेर नै महोत्सवमा ल्याइएको पनि कृषक फकामीले बताए।

बैशाली समूहले फर्म दर्ता गरेर बिगत तीन बर्षदेखि बोका पालन गर्दै आएको छ। समूहका सदस्यहरुले पालो अनुसार पाल्दै बोका पाल्दै आएका उनीहरुले पछिल्ला दिनमा बोकाको हेरचाहको लागि तीन जना कामदारहरु पनि राखेका छन।

रेडियोले एक सय आठौँ महिला दिवसको अवसर तथा रेडियो स्थापनाको आठौँ बर्षगाँठको उपलक्ष्यमा ‘कला संस्कृतिको संरक्षण गरौँ, घरेलु बस्तुको प्रबद्र्धन गरौँ’ भन्ने नाराका साथ दशौं पश्चिमाञ्चल महिला महोत्सवको आयोजना गरेको छ।

प्रतिक्रिया दिनुहोस्