सार्वजनिक जग्गा खोज्दै महानगरपालिका

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं

काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रमा रहेको सार्वजनिक जग्गा खोजी शुरू गरेको छ। कामपाले सबै वडालाई लिखित निर्देशन दिएपछि सबै वडाले सार्वजनिक जग्गा खोजी कार्य शुरू गरेको छ।कामपा–११ का वडा अध्यक्ष हीरालाल तण्डुकारले सार्वजनिक जग्गाको खोजी शुरू गरिएको बताउनुभयो। कामपाले मंगलबार त्रिपुरेश्वरको कुमारीमार्गको करिब १ रोपनी १४ आना २ दाम सार्वजनिक जग्गा रेखांकन गरेको छ। सो वडामा करिब ८ रोपनी सार्वजनिक जग्गा रहेको उहाँले जानकारी दिनुभयो। कामपाका मेयर विद्यासुन्दर शाक्यले सार्वजनिक जग्गा खोजी गरी तत्काल पार्कका रूपमा विकास गर्न सबै वडालाई लिखित पत्र पठाएको बताउनुभयो।

उहाँले भन्नुभयो– ‘मैले मेयरको बागडोर सम्हालेलगत्तै सबै वडा कार्यालयलाई लिखित पत्र पठाएर सार्वजनिक जग्गा खोज्न निर्देशन दिइसकेको छु।’ कामपाले सार्वजनिक जग्गामा मन्दिर वा क्लब निर्माण गर्नेभन्दा पनि खुला क्षेत्रका रूपमा विकास गर्न निर्देशन दिएको छ।सार्वजनिक जग्गा भेट्यो कि मन्दिर वा भवन बनाउने प्रवृत्तिलाई रोक्न र सबै जग्गामा पार्क निर्माण गर्न निर्देशन दिएको मेयर शाक्यले बताउनुभयो।

कामपा–४ का अध्यक्ष दीपक केसीले वडाभित्र रहेका सार्वजनिक जग्गा खोज्ने काम भइरहेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘हालसम्म २१ रोपनी जग्गा भेट्टाइसकेका छौं, अन्य जग्गाको खोजी जारी राखेका छौं।’वडामा सार्वजनिक जग्गा भेटे पनि सार्वजनिक जग्गा हडप्न पल्केका गिरोहले मुद्दा दर्ता गर्ने गरेको कामपाको गुनासो छ। कामपाले मालपोत कार्यालयको सहयोगमा सार्वजनिक जग्गाको नक्सांकन गर्ने भएको छ। पछिल्लो तथ्यांकअनुसार महानगर क्षेत्रभित्र ८ सय ९० कित्तामा २ हजार ५ सय ४८ रोपनी सार्वजनिक जग्गा रहेको तथ्यांक सार्वजनिक गरेको थियो। कामपाले २०६६ सालमा सार्वजनिक जग्गाको लगत निकालेको थियो।

सार्वजनिक जग्गामध्ये नदीले छोएको र केही खाली जग्गा व्यक्तिले भोगचलन गरिरहेका छन्। सार्वजनिक जग्गा व्यक्ति विशेषले उपयोग गरेको भन्ने उजुरीको आधारमा वडाले मालपोत र नापी कार्यालयको सहयोगमा जग्गा खोजी गरी रेखांकन गर्न थालेको छ। कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले तत्काल सार्वजनिक जग्गा खोजेर संरक्षण गर्न सबै वडा कार्यालयलाई निर्देशन दिइसकेको बताउनुभयो।फेला पारेका जग्गामा तारबार गर्न सबै वडामा थप बजेट विनियोजन गरेको उहाँको भनाइ थियो। कामपाका प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले सार्वजनिक जग्गा खोजी गरी संरक्षण गर्ने दायित्व सबै वडा कार्यालयको भएकाले जग्गा संरक्षण गर्न वडालाई निर्देशन दिएको बताउनुभयो।

उहाँका अनुसार महानगरका प्रायः सबै वडामा सार्वजनिक जग्गा रहेका छन्। तीमध्ये हालसम्म करिब ४० रोपनी जग्गा फेला पारिसकेको छ। मेयर शाक्यले विपद् पर्दा जोगिनका लागि भए पनि सार्वजनिक जग्गालाई पार्कको रूपमा विकास गर्न अत्यावश्यक रहेको बताउनुभयो। कामपाले स्थानीयको सहयोगमा सावजनिक जग्गा पहिचान गरी संरक्षण गर्ने योजना बनाएको छ।मेयर शाक्यले सार्वजनिक जग्गा कसैले उपभोग गरेको जानकारी भए तत्काल वडा कार्यालयलाई जानकारी दिनसमेत आह्वान गर्नुभएको छ।