फोरम ससर्त सरकारमा सहभागी हुँदै



Upendra Yadav

नेपाल समाचारपत्र
काठमाडौं
संविधान संशोधन गर्न वाम गठबन्धन लचक भएपछि संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने भएको छ। फोरमले उठाएका कतिपय विषय सरकारको नीति तथा कार्यक्रममा समेत समेटिने भएको छ।

आन्दोलनका क्रममा उठाएका माग संविधान संशोधन गरी टुंग्याउन एमाले–माओवादी सकारात्मक बनेपछि फोरम सरकारमा सहभागी हुने निधो भएको सो दलका नेता डा. शिवजी यादवले जानकारी दिनुभयो। ‘लिखित सम्झौता भएको छैन तर सरकारमा सहभागी हुने कुरा टुंगो लागेको छ। २⁄३ दिनभित्रमा सरकारसँग लिखित सम्झौता हुँदै छ।’ –उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो।

शेरबहादुर देउवा नेतृत्वको सरकारसँग फोरमले संविधान संशोधनको माग गरिरहँदा सो बेलाको प्रमुख प्रतिपक्षी दल एमालेले संविधान संशोधनको औचित्य नरहेको अडान लिएको थियो। एमालेले अन्य दलहरूलाई पनि सरकारले प्रस्ताव गरेको संविधान संशोधनमा समर्थन नगर्न पहल गरेको थियो। तर, अहिले सरकारलाई दुई तिहाइ मत जुटाउन एमाले विगतको अडानमा लचक बनेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र फोरमका अध्यक्ष यादव, सहअध्यक्ष राजेन्द्र श्रेष्ठलगायत बीच फोरमको मागबारे बिहीबार सहमति जुटेको हो। आज शुक्रबार तराईको होली पर्व परेकाले होली सकिएलगत्तै सरकारसँग लिखित सहमति हुने डा. यादवले बताउनुभयो। संविधान संशोधन राष्ट्रिय जनता पार्टी (राजपा)को समेत मुख्य एजेन्डा भएकाले आफ्नो दल सरकारमा सामेल हुँदा राजपाको समेत साथ र समर्थन रहने फोरम नेताहरूको विश्वास छ। आफ्नो दल सरकारमा सहभागी भएपछि सरकारले राजपासँगको सम्बन्धमा फाटो ल्याउन सक्ने केही नेताहरूको आशंकासमेत छ।

यादवलाई सरकारमा सामेल गराउन परराष्ट्र मन्त्रालय दिनेबारे वाम गठबन्धन यसअघि नै सहमत भएका छन्। तर, फोरमले परराष्ट्रसहित अन्य दुई मन्त्रालय पनि दाबी गरेकाले मन्त्रालय बाँडफाँडको अन्तिम टुंगो भने अझै लागेको छैन। सबै क्षेत्रको प्रतिनिधित्व मिलाउन ३⁄४ मन्त्रालय आवश्यक पर्ने फोरमले अडान लिएको छ। ‘मन्त्रालयको कुराभन्दा पनि हाम्रो एजेन्डाचाहिँ महत्त्वपूर्ण हो, मन्त्रालय बाँडफाँडको विषय केही दिनमा टुंगो लाग्छ।’ –फोरमका एक नेताले भने।

दुई तिहाइ मत जुटाउने तयारीका साथ फोरमलाई सरकारमा सहभागी गराउने प्रयास हुँदा मन्त्रिपरिषद् विस्तारमा समेत ढिलाइ हुँदै आएको छ। एमाले अध्यक्ष ओली आफ्नै पार्टीका दुई मन्त्री सामेल गराउँदै फागुन ३ गते प्रधानमन्त्री बन्नुभएको थियो। यसको ११ दिनपछि एमाले र माओवादीका २–२ मन्त्री थपिए पनि मन्त्रिपरिषद् विस्तारले अझै पूर्णता पाएको छैन। यसअघि एमाले र माओवादीले ११ र ७ मन्त्रालय बाँडफाँड गर्दै नयाँ सरकारमा जाने टुंगो लगाएका थिए।

प्रतिक्रिया दिनुहोस्