म्याग्दीमा यसरी मनाइयो होली पर्व

0
Shares

प्रताप बानियाँ, म्याग्दी
म्याग्दी जिल्लामा यस वर्षको फागुपूर्णिमा अर्थात् (होली) पर्व सदरमुकाम बेनीबजारसहित ग्रामीण क्षेत्रको विभिन्न ठाउँहरूमा हर्षोल्लासपूर्वक मनाइएको छ। हरेक वर्षको फाल्गुन शुक्ल पूर्णिमाका दिन मनाइने नेपालीको रङको पर्व होली साथीभाइ र आफन्तबीच एक–आपसमा रङ लगाएर मनाइएको हो।

होली पर्वको अवसरमा स–साना विद्यालय उमेर समूहका बालबालिकादेखि युवा पुस्ताले उमेर समूह बनाएर एक–अर्कामाथि विभिन्न प्रकारका रङ दलेर शुभकामना साटासाट गरी होली पर्व मनाइएको छ।

पर्वमा साना बालबालिका, युवापुस्ता, पत्रकार, शिक्षक, विद्यार्थी, सर्वसाधारणलगायतले सहभागिता जनाएका थिए। होलीमा विभिन्न प्रकारका रङ लगाउँदै ‘बेनीको बजार जता मायाँ उतै छ नजर’ जस्ता गीतहरू गाउँदै युवा पुस्ता र बालबालिका रमाएका थिए।

स्कुले बालबालिकाले समेत आ–आफ्नो अनुहारमा विभिन्न किसिमका रङ दलेर होली मनाएका छन्। सडक तथा गल्लीसँगै घरका ब्रान्ड र छतबाट पानी छ्याप्ने, लोला हान्नुका साथै अबिर फालेर रमाइलो गरिएको थियो। यसै गरी अण्डासमेत प्रहार गरिएको थियो। होलीमा सहभागी युवा गीत–संगीतमा झुमेका थिए।

यसैबीच होलीलाई लक्षित गरी प्रहरीले बेनीबजार तथा आसपासका क्षेत्रमा गस्ती बढाएको जानकारी दिएको छ। परिचित वा अपरिचित जो भए पनि एक–आपसमा रङ लगाएर उल्लासमय वातावरणमा होली मनाउन तथा मर्यादित बनाउनका लागि यसअघि प्रहरीले सार्वजनिक सूचना जारी गरेको थियो। म्याग्दीमा सौहार्दपूर्ण वातावरणमा होली मनाइएको र अप्रिय खालको कुनै पनि घटना नघटेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

नेपालमा प्रचलित विभिन्न संस्कृतिमध्ये होलीको आफ्नै किसिमको महत्त्व रहेको छ। रङहरूको पर्व होलीको दिन पुराना कटुता समाप्त गर्ने, नकारात्मक सोचको अन्त्य गरी खुसी साट्ने दिनका रूपमा पनि होली मनाउने गरिएको पाइन्छ। होलीमा लगाइने रङहरूको आ–आफ्नै विशेषता रहेकाले अरूको भावनाविपरीत रङ लगाउनु पर्वको मान्यताभन्दा बाहिर हुने हुँदा सहमति र सहकार्यका लागि होली पर्वको महत्त्व रहेको छ।