चालकद्वयलाई जनही १ लाख ५ हजार

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धुलिखेल रुट इकाइले इमानदार, अनुशासित र जेष्ठ मजदुरलाई जनही १ लाख ५ हजारका दरले दुई जनालाई सम्मान गरेको छ भने उत्कृष्ट चालक र परिचालकलाई सम्मान गरेको छ।

संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई र धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जुले जेष्ठ मजदुर सदस्यद्वय शंकर श्रेष्ठ र अशोक श्रेष्ठलाई दोसल्ला, सम्मानपत्र र नगद रु. १ लाख ५ हजारसहित सम्मान गरेका थिए।

संगठनले यसअघि ११ जना मजदुरलाई जनही १ लाख ५ हजारका दरले सम्मान गर्दै आएको छ। यो वर्षको सम्मान १२ र १३औं जेष्ठ मजदुर सम्मान रहेको अध्यक्ष अर्जुन लामाले बताए। ‘संगठनमा आबद्ध भएर इमानदार, अनुशासित हुँदा उत्साह थपियोस् भन्ने उद्देश्यले हरेक वर्ष दुई जना जेष्ठ सदस्य, तीन जना उत्कृष्ठ चालक र दुई जना परिचालकलाई नगदसहित सम्मान गरिएको हो’ –अध्यक्ष लामाले भने।

१२औं सम्मानबाट जेष्ठ सदस्य शंकर श्रेष्ठलाई सम्मान गरिएको हो। ३१ वर्षदेखि अरनिको र बीपी राजमार्गमा बस चलाउँदै आएका श्रेष्ठले बा४ख ५८३५ नम्बरको बस चलाइरहेका छन् भने १३औं सम्मानबाट सम्मानित कृष्ण श्रेष्ठ पनि ३१ वर्षदेखि सोही रुटमा बस चलाउँदै आएका छन्।

उनले बा१ख ६३११ नम्बरको बस चलाएका छन्। उत्कृष्ट चालकहरूमा ना२ख १६१७ का श्यामकृष्ण शाही, बा१ख ७९५२ का सुदीप तामाङ, बेनकाजी शाही रहेका छन्। त्यस्तै परिचालकमा रामशरण केसी र सुजित तामाङ रहेका छन्। उनीहरूलाई नगद २ हजार ५ सय, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

त्यस्तै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पनौती रुट इकाइले उत्कृष्ट चालकहरू हरि अधिकारी, भूपेन्द्र श्रेष्ठ, बुद्ध तामाङ, राजु कुटुव र मिलन तामाङलाई सम्मान गरेको छ भने राम मानन्धर, नवराज आचार्य र राजीव विकलाई उत्कृष्ट परिचालकका रूपमा संगठनका केन्द्रीय महासचिव नवराज घिमिरे, कार्यवाहक अध्यक्ष जगत्बहादुर श्रेष्ठ, काभ्रे मिनीबस सेवा समितिका अध्यक्ष राजेशसुन्दर सैंजुले सम्मानपत्र र दोसल्लाले सम्मान गरेका थिए।

मजदुर संगठनले हरेक वर्ष फागुपूर्णिमाको अवसर पारी मजदुरहरूलाई सम्मान गर्दै आएको छ। धुलिखेलमा आयोजित कार्यक्रममा बोल्दै संगठनका अध्यक्ष भीमज्वाला राईले सरकारले सवारीसाधन बर्सेनि झण्डै ५ लाखको संख्यामा भित्त्याउने र सडक एक सय किलोमिटर पनि नबढाउँदा ट्राफिक जाम, दुर्घटना र अराजकता भित्रिएको बताए।

सुशील कोइराला नेतृत्वको सरकारले ल्याएको मजदुरविरोधी कानुन खारेजको माग गर्दै राईले सडक सुरक्षाका लागि निजी क्षेत्रबाट भएको यातायात क्षेत्रको लगानीलाई समेत सुनिश्चित गर्न मजदुरविरोधी ऐन र कानुन तत्काल खारेज गर्नुपर्ने बताएका थिए। नगर प्रमुख अशोक व्याञ्जुले सम्मान गर्ने र सम्मानित हुने गरी मजदुर क्षेत्रको समस्यालाई समाधान गर्नुपर्ने बताए।

कार्यक्रममा अध्यक्ष अर्जुन लामा, केन्द्रीय उपाध्क्ष विष्णु लामा, मजदुर इन्जार्च केशवमणि पौड्याल, काभ्रे बस व्यवसायी संघका अध्यक्ष दिलबहादुर शाही, हिमाल तराई यातायात सेवा समितिका अध्यक्ष आत्मराम थापालगायतले मजदुरका हकहितका बारेमा धारणा राखेका थिए। पनौतीमा आयोजित कार्यक्रममा केन्द्रीय महासचिव नवराज घिमिरे, काभ्रे मिनीबस सेवा समितिका अध्यक्ष राजेशसुन्दर सैंजु, जिफन्ट अध्यक्ष विदुर खत्री, संगठनका कार्यवाहक अध्यक्ष जगत्बहादुर श्रेष्ठ र सचिव शेषनाथ घिमिरेलगायतले मन्तव्य राखेका थिए।