रसियासँग अभेद्य क्षेप्यास्त्र छः पुटिन

0
Shares

मस्को, (एजेन्सी)
रसियाले एउटा नयाँ अभेद्य क्रुज क्षेप्यास्त्रको विकास गरेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार दाबी गरेका छन्। उनले आफ्नो चौथो राष्ट्रपतीय कार्यकालका लागि महत्त्वपूर्ण राष्ट्रिय नीतिहरू अघि सार्ने क्रममा यो खुलासा गरेका हुन्।

आगामी सत्र दिनपछि हुन गइरहेको राष्ट्रपतीय चुनाव पुटिनले सजिलैसँग जित्ने अनुमान गरिएको छ। उनले रसियाका नयाँ तथा अत्याधुनिक एवम् शक्तिशाली हतियारहरूको विवरण पेस गर्ने क्रममा उक्त क्रुज क्षेप्यास्त्र विश्वको जुनसुकै स्थानमा पुग्न सक्षम भएको समेत दाबी गरेका छन्।

भिडियो प्रस्तुतीकरणका क्रममा पुटिनले युरोप र एसियामा सो क्रुज क्षेप्यास्त्रलाई संयुक्त राज्य अमेरिकाको प्रतिक्षेप्यास्त्र प्रणालीले कुनै पनि हालतमा छेक्न नसक्ने पनि दाबी गरेका छन्। साथै अत्याधुनिक प्रविधिको यो क्षेप्यास्त्र सम्पूर्ण क्षेप्यास्त्र प्रतिरक्षा र वायु प्रतिरक्षा सामना गर्न सफल भएको बताइएको छ।

पुटिनले आणविक हतियार बोक्ने तथा पनडुब्बीबाटै प्रहार गर्न सकिने लामो दूरी क्षमताको क्षेप्यास्त्रबारे पनि उल्लेख गरेका छन्। पुटिनले संसद्को दुवै सदनलाई दुई घण्टासम्म टेलिभिजनमार्फत सम्बोधन गरेका थिए।