फेडेररले जिते वल्र्ड स्पोर्टसम्यान पुरस्कार


लन्डन, (एजेन्सी)
टेनिस जगतसँगै विश्व खेलकुदमा सानदार करिअर बनाएका रोजर फेडेररले २०१७ लउरिउस वल्र्ड स्पोर्टसम्यान अफ द इयरको पुरस्कार जितेका छन्। साथै स्विस खेलाडीले कमब्याक अफ द इयर पुरस्कारसमेत हात पारे। ३६ वर्षीय फेडेररले यसै वर्षको ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपन जितेर करिअरमा २०औं ग्रान्डस्लाम उपाधि हासिल गरेका छन्। यो पुरुष टेनिसमा एक खेलाडीले जितेको सर्वाधिक ग्रान्डस्लाममा बनेको कीर्तिमान पनि हो।

करिब ५ वर्ष प्रमुख उपाधिविहीन बन्दा फेडेररले गत वर्ष २०१७ मा अस्ट्रेलियन र विम्बल्डन उपाधि जितेर पुनः टेनिस संसारमा आफ्नो आधिपत्य जमाएका हुन्। उनले यो दुर्लभ उपलब्धि जस्तै भएको भन्दै बताए– ‘मलाई विश्वासै लागेन कि मैले यो स्तरमा फेरि कमब्याक गर्नेछु भनेर।’ यसको मतलब मसंँग संसार छ। कमब्याक सँधै ज्यादै भावुकता हुन्छ। गत वर्ष सपना साँचो भएको थियो। फेडेररले यो पुरस्कार प्राप्त गर्न दिग्गज खेलाडीलाई पछारेका थिए। उनीसँगै पोर्चुगल र रियल मेड्रिडका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो, ग्रेट ब्रिटेनका धावक मोहम्मद फराह, ग्रेट ब्रिटेनकै साइक्लिस्ट क्रिस फ्रुम, अर्का ग्रेट ब्रिटेनका फर्मुला वान डाइभर लेविस हेमिल्टन मनोनयनमा परेका थिए। यस्तै फेडेररकै चिरपरिचित प्रतिद्वन्द्वी राफाल नाडालसमेत सो मनोनयनमा थिए। तर स्पेनी खेलाडीले फेडेररसँग ग्रान्डस्लाम जित्ने दौडमा मात्रै होइन पुरस्कारको होडमा पनि सामना गर्न सकेनन्।

नाडालको बारे फेडेररले बताए– ‘राफाको पनि महान वर्ष थियो। हामीले संघर्ष गरेका थियौं। हामी राम्रो खेलाडी भयौं। तर उनी पनि यसै पुरस्कारसँगै यहाँ बस्न सक्नेछन्। उनी अद्भूत खेलाडीका साथै साथी पनि हुन्।’

यस्तै टेनिसकै अर्की खेलाडी सेरेना विलियम्सले वल्र्ड स्पोर्टस्वोम्यान अफ द इयरको पुरस्कार जितेकी छिन्। अमेरिकी खेलाडीले गत वर्ष आफ्नो २३औं ग्रान्डस्लाम जितेकी हुन्। सेरेनाले टेनिसतर्फ स्पेनका गार्बिन मुगुरुजा, दक्षिण अफ्रिकाकी धाविका क्यास्टर सेमेन्या, अमेरिकी धाविका एलिसन फेलिक्स, पौडीतर्फ अमेरिकी क्याटी लेडेक्की र अमेरिकाकै अल्पाइन स्किइङ मिकाएला सिफ्रीनलाई हराउँदै पुरस्कार प्राप्त गरेकी हुन्।

यसैगरी फरमुला वान कन्सट्रक्टर्स च्याम्पियन्स मर्सिडिजले टिम अफ द यर तथा ह्विलचेयर खेलाडी मार्सेल हगले विकलांगसँगै स्पोर्टसपर्सन अफ द यरको उपाधि जिते। टिम अफ द यरमा रियल मेड्रिड पनि मनोनयनमा परेको थियो। त्यस्तै फुटबलतर्फका फरवार्ड फ्रान्सेस्को टोटीले लउरिउस एकेडेमी एक्सप्सनल अचिभमेन्ट पुरस्कार प्राप्त गर्न सफल भएका छन्। उनी हालै रोमाबाट रिटायर्ड भएका हुन्।