प्योङयाङद्वारा सिरियालाई रसायनिक हतियारमा सहयोग


वासिङ्टन, (एजेन्सी)
उत्तर कोरियाले सिरियालाई रसायनिक हातहतियार बनाउन प्रयोग गरिने उपकरणहरु पठाउने गरेको बुधबार संयुक्त राष्ट्र संघले सावर्जनिक गरेको एक प्रतिवेदनमा उल्लेख गरिएको छ।

सो प्रतिवेदनमा सन् २०१२ देखि २०१७ बीच करिब ४० वटा सिपमेन्ट सिरियातर्फ गएको उल्लेख गरेको छ। ती जहाजमा एसिड रेजिस्टेन्ट टायल्स, भल्भ र पाइपलगायतका वस्तुहरु रहेको बताइएको छ।

साथै उक्त सार्वजनिक भएको प्रतिवेदनमा उत्तर कोरियाली क्षेप्यास्त्र विशेषज्ञहरु सिरियाली हातहतियार निर्माण केन्द्रमा देखिएको बताइएको छ। पछिल्ला केही आक्रमणमा सिरियाली सरकारी फौजले विषाक्त क्लोरिन ग्यास प्रयोग गरेको अभियोग लगाइएको थियो।

तर फौजले भने सो आरोपको खण्डन गरेको थियो। यसैबीच हिजो दोस्रो दिन पनि सिरियाको राजधानी दमास्कसनजिकको इस्टर्न घेउटा क्षेत्रमा युद्ध जारी रहेको बताइएको छ।

मानव उद्धार समूहमार्फत लडाकू नियन्त्रित क्षेत्रमा फसेका सर्वसाधारणलाई निकालेर सुरक्षित गन्तव्यतर्फ लान र अन्य राहत सामग्री वितरणका लागि दिनको पाँच घण्टा सो क्षेत्रमा युद्ध रोकने सहमति गरिएको थियो। तर मंगलबारदेखि सो युद्ध विराम नीतिको व्यापक उल्लंघन शुरू भएको थियो।

मानव अधिकारवादी कार्यकर्ताहरुले सो क्षेत्रमा क्षेप्यास्त्र र ब्यारेल बम प्रहार भइरहेको आवाज सुनिएको बताएका छन्। रुसी विदेश मन्त्री सर्गेइ लाभ्रोभले भने लडाकूहरुले मानवीय उद्धार कार्यमा अवरोध पुर्याइरहेको आरोप लगाएका छन्।