जनताको सेवक बन्न गृहमन्त्रीको प्रहरीलाई निर्देशन

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बुधबार प्रहरी प्रधानकार्यालयको निरीक्षण गर्दै प्रहरी अधिकारीहरूलाई विभिन्न निर्देशन दिनुभएको छ।
निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री थापाले प्रहरी प्रधानकार्यालय कमान्ड सेन्टर, डिजिटल फरेन्सिक ल्याब र पोलीग्राफ सेक्सनको निरीक्षणसमेत गर्नुभयो। उहाँले कमान्ड सेन्टरमा भिडियो कन्फरेन्सबाट प्रदेश प्रहरी प्रमुखहरूलाई शान्ति सुरक्षा कायम राख्ने सम्बन्धमा आवश्यक निर्देशन दिँदै प्रदेश प्रहरीका समस्याहरू समाधान गरिने बताउनुभयो।

गृहमन्त्री थापाले संघीय लोकतान्त्रिक गणतन्त्रमा मुलुकको विकास र समृद्धिका लागि अपराध अनुसन्धान र शान्ति सुरक्षाको महत्त्वपूर्ण भूमिका रहने हुनाले प्रहरीले नयाँ कार्यशैलीका साथ काम गर्नुपर्ने बताउनुभयो। प्रदेश प्रहरी ऐन तथा क्षेत्राधिकारका साथै पदोन्नती, साधनस्रोतको अभावलगायतका समस्या रहेको चर्चा गर्दै गृहमन्त्री थापाले प्रहरीमा नयाँ ऐनको व्यवस्था, भौतिक साधनस्रोत सम्पन्न बनाउनेतर्फ ठोस योजनासहित मन्त्रालयले काम गर्ने बताउनुभयो।

नेपाल प्रहरीलाई विश्वकै रोलमोडल बनाउन सकिने उल्लेख गर्दै गृहमन्त्री थापाले यसका लागि नयाँ योजना र नयाँ संरचनाको विकासका साथ अगाडि बढनुपर्ने बताउनुभयो। इतिहासले दिएको नयाँ चुनौतीमाथि सफलता हासिल गर्न सबैको साथ, सहयोग र समन्वय आवश्यक रहने उहाँले विश्वास व्यक्त गर्नुभयो। निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री थापाले प्रहरी प्रधानकार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो।

समारोहमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक प्रकाश अर्यालले निर्देशन सम्बोधन नेपाल प्रहरीका लागि आगामी दिनमा गन्तव्य पहिल्याउन रोडम्यापको रूपमा रहने विश्वास व्यक्त गर्नुभयो। संघ र प्रदेशका प्रहरी कार्यक्षेत्र स्पष्ट र सरल विभाजनका लागि संघीय प्रहरी ऐन यथाशीघ्र जारी हुनु आवश्यक रहेको बताउँदै प्रहरी महानिरीक्षक अर्यालले नेपाल प्रहरीको व्यावसायिकता अभिवृद्धि र स्रोतसाधन व्यवस्थापनमा मन्त्रालयको उल्लेख्य भूमिका रहने विश्वास व्यक्त गर्नुभयो।

निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री थापासमक्ष प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रहरीको विकासक्रम, वर्तमान अवस्था, चुनौती, आवश्यकता र अपेक्षा सम्बन्धमा प्रस्तुतीकरण गर्नुभएको थियो।