सिनियर डिभिजन १३औं ब्याचको दीक्षान्त समारोह सम्पन्न

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
राष्ट्रिय सेवा दलद्वारा उपत्यकाभित्र सञ्चालित सिनियर डिभिजन १३औं ब्याच तालिमको दीक्षान्त समारोह राष्ट्रिय सेवा दलका प्रमुख संरक्षक एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

उक्त दीक्षान्त समारोहमा काठमाडौं, भक्तपुर तथा ललितपुर जिल्लाका १३ विद्यालयका ५ सय ४० जना छात्र⁄छात्राले दीक्षान्त कवाज प्रदर्शन गर्नुका साथै खुकुरी ड्रिल, तेक्वान्दो पिटी, एरोबिक्स, मास पिटी, आइकिदो तथा सामूहिक नृत्यहरू उत्कृष्ट ढंगले प्रदर्शन गरेका थिए।

उक्त कार्यक्रमका प्रधानमन्त्री ओलीले वार्षिक सामूहिक क्याम्पमा सर्वोत्कृष्ट हुने सैनिक आवासीय महाविद्यालय भक्तपुरका छात्रा क्याडेट बेली लामा र सोही महाविद्यालयका छात्र विकास खाँण ठकुरी तथा वार्षिक सामूहिक क्याम्पमा सर्वोत्कृष्ट हुने सेमु. सैनिक आवासीय महाविद्यालको ‘क’ गुल्मको नं.१ सेमु.लाई पुरस्कार प्रदान गर्नुभयो। साथै सर्वोत्कृष्ट छात्र⁄छात्रालाई दज्र्यानी चिह्न, शिल्ड तथा प्रमाण–पत्र प्रदान गर्नुभएको थियो। त्यसैगरी उहाँले राष्ट्रिय सेवा दलद्वारा प्रकाशित कफी टेबल बुकको समेत विमोचन गर्नुभएको थियो। कार्यक्रमकै क्रममा उहाँले उक्त कार्यक्रमलाई सफल बनाउन योगदान पुर्याएका विद्यालयलाई प्रशंसापत्रसमेत प्रदान गर्नुभएको थियो।

प्रधानमन्त्री ओलीले राष्ट्रिय सेवा दलको तालिममा छनोट भई सय दिन अवधिको तालिम सफलतापूर्वक सम्पन्न गरी दीक्षित हुनुहुने क्याडेट छात्रछात्रालाई हार्दिक बधाई दिनुभयो। सर्वोत्कृष्ट समाजको निर्माणका लागि युवा अवस्थामा आफ्नो मनोबल उच्च राखेर कुशल नेतृत्वको विकास, नैतिक आचरण र अनुशासनको पालना गर्दै समाज र राष्ट्रप्रतिको कर्तव्य बुझेर त्यसलाई पूरा गर्न सबल नागरिक बन्ने कार्यमा यस तालिम फलदायी हुने विश्वास व्यक्त गर्नुभएको छ।

उहाँले नेपाली सेनाको निरन्तर प्रयासबाट सेवा दलको तालिमको दायरा भविष्यमा अझै फराकिलो र तालिमको स्तर अझै उत्कृष्ट हुँदै जानेमा आफू विश्वस्त रहेको बताउनुभएको थियो।

राष्ट्रिय सेवा दलका प्रमुख सल्लाहकार उपरथी डा. रमीन्द्र क्षत्रीले राष्ट्रिय सेवा दलको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सो क्रममा उहाँले देशभरका युवाहरूलाई समयानुकूल व्यावहारिक र वैज्ञानिक ढाँचाको तालिम दिएर ‘स्मार्ट युथ’ बनाउने र तिनै ‘स्मार्ट युथ’को बल र विवेकका आधारमा राष्ट्रको गरिमा र विकासलाई माथि उठाउने बृहत्तर लक्ष्य हासिल गर्न राष्ट्रिय सेवा दलको थप क्षमता विस्तारको आवश्यकता रहेको बताउनुभयो। उहाँले दीक्षान्त समारोहमा गरिमामय उपस्थिति जनाउनुभएका राष्ट्रिय सेवा दलका प्रमुख संरक्षक एवम् प्रमुख अतिथिलगायत सम्पूर्णलाई धन्यवाद दिनुभएको थियो।
युवा शक्तिको महत्त्व तथा आवश्यकतालाई मनन गरी २०२२ साल कात्तिक ७ गते नेपाली सेनाको मातहतमा रहने गरी स्थापना भएको राष्ट्रिय सेवा दलले हालसम्म ३५ हजार ९ सय ६८ जना छात्र⁄छात्रालाई तालिम प्रदान गरिसकेको छ।