तीन नम्बर प्रदेशले पायो सातै मन्त्री

0
Shares

हेटौंडा, (नेस)
प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा एमालेका ३ र नेकपा माओवादी केन्द्रका १ जना सहभागी गराएर बुधबार मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ।

एमालेबाट रामेछापका कैलाश ढुंगेललाई आर्थिक मामिला तथा योजना मन्त्रालय, सिन्धुपाल्चोकका एमाले पोलिटब्युरो सदस्य अरुण नेपाललाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र चितवनका दावा दोर्जे लामालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको हो। ढुंगेल र लामा एमाले अध्यक्ष केपी ओलीनिकट र नेपाल वरिष्ठ नेता माधवकुमार नेपाल समूहका हुनुहुन्छ। यस्तै माओवादी केन्द्रबाट सिन्धुपाल्चोकका युवराज दुलाललाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। दुलालले लामो समय माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का अंगरक्षकका रुपमा काम गर्नुभएको थियो। शपथपछि मन्त्रीहरूले आफूहरूले नमुना काम गरेर देखाउने दाबी गर्नुभयो।

उहाँहरूलाई प्रदेश प्रमुख अनुराधा कोइरालाले पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको थियो। ३ नम्बर प्रदेशमा मन्त्रीको संख्या मुख्यमन्त्रीसहित ७ पुगेको छ। ७ मन्त्रालयमध्ये आन्तरिक मामिला तथा कानुनमन्त्रीमा माओवादीका शालिकराम जमकट्टेल र भौतिक पूर्वाधार मन्त्रालयमा एमालेका केशव स्थापित नियुक्त भइसक्नुभएको छ।