संघीय संसद्को सभामुखमा महरा



नेपाल समाचारपत्र
काठमाडौं
नेकपा माओवादी केन्द्रबाट सभामुखमा कृष्णबहादुर महरा हुने भएका छन्। माओवादी केन्द्रले सभामुखमा महरालाई सभामुख बनाउने भएको हो।

पटक–पटक सरकारमा सहभागी भएको कारण नेता महरा केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी नहुने हुनुभएको थियो। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको भागवण्डाअनुसार माओवादीलाई सभामुख र एमालेलाई उपसभामुख परेको छ। नेताहरूको व्यवस्थापन गर्न माओवादीले महरालाई सभामुखमा अगाडि सारेको माओवादी केन्द्रका एक नेताले बताए। उनका अनुसार पार्टीले सभामुखमा महरालाई अगाडि सारेपछि अन्य नेताहरूले आकांक्षा देखाएका छैनन्।

उनले नेपाल समाचारपत्रसँग भने– ‘पार्टीबाट महरा नै सभामुख बन्ने सहमति शीर्ष तहमा भइसकेको छ।’ शान्ति प्रक्रियामा आएपछि गठन भएको सरकारमा माओवादी केन्द्रबाट महराले नै पटक–पटक सरकारमा जाने अवसर पाउनुभएको थियो।

यसपटक भने महराले मन्त्री बन्न कुनै लबिङ नगरेको बताइएको छ। यसअघिको सभामुख निर्वाचनमा पनि महरालाई सभामुखका रूपमा अगाडि सारिए पनि महराले अस्वीकार गर्नुभएको थियो।

तर अहिले पनि मन्त्री बन्ने आकांक्षी धेरै भएको र मन्त्रालय सीमित भएको कारण महराले सभामुख बन्ने इच्छाअनुसार पार्टीले सभामुखका रूपमा अगाडि सारेको बताइएको छ।

निवर्तमान सभामुख ओनसरी घर्तीको चर्चा भए पनि अन्ततः संघीय संसद्को सभामुखमा महरा नै हुने भएका छन्। संविधानअनुसार संसद् बैठक शुरू भएको १५ दिनभित्र सभामुख र उपसभामुखको चयन भइसक्नुपर्नेछ। उपसभामुखमा भने एमालेभित्र अहिलेसम्म कुनै छलफल नभइएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्