संघर्ष समितिको आन्दोलन होलीभरीलाई बिश्राम



कृष्णउदास खनाल, वीरगन्ज ।
वीरगन्जलाई प्रदेश २ को राजधानी बनाउन माग गर्दै आन्दोलनरत पक्षले होलीभरी आन्दोलन स्थगित गरेपनि होलीपछि आन्दोलन अझ चर्काउने उद्घोष गरेको छ ।

बिगत ५६ दिनदेखि घण्टाघरमा रिले अनशन गरिरहेको संघर्ष समितिले होली मिलन समारोह गरी वीरगन्ज बजार बन्दको घोषणा गरेको हो । शान्तिपूर्ण आन्दोलन गर्दा सम्बन्धित निकायले चासो नदिएकोले कडा आन्दोलनमा जाने निर्णयमा पुगेको संघर्ष समितिका सहसंयोजक एवं पूर्व सांसद राजकुमार गुप्ताले बताए ।‘हामीले शान्तिपूर्ण आन्दोलन र्गयौं, राजधानी बनाउनेबारे सम्बन्धित निकायले चासो दिएन । वार्ताको नाममा ललिपप देखाउने काम भयो’ उनले भने ‘ त्यसैले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छौं ।’

उनले आन्दोलनको स्वरुप परिवर्तन भएपनि रिले अनसन नहटाउने बताए । ‘आन्दोलनको स्वरुप फेरे पनि रिले अनसन हटाउँदैनौं, यथावत राख्छौं’ नेता गुप्ताले भने ‘वीरगन्जलाई राजधानी नबनाएसम्म आन्दोलन रोकिदैन ।’होली मिलन समारोहमा बोल्ने वक्ताहरुले होली लगत्तै आन्दोलन चर्काउने बताएका छन् ।संघर्ष समितिले फागुन २३, २४ र २५ गते बारा, पर्सा, रौतहटमा वीरगञ्ज राजधानी बनाउन जागरण अभियान सञ्चालन गर्ने, २६ गते अन्तक्रिर्या कार्यक्रम गर्ने, २७ गते मशाल जुलुस प्रदर्शन गर्ने र २८ गते वीरगन्ज बन्द गर्ने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

संघर्ष समितिका सदस्य लुकेश सिंकका अनुसार वीरगन्जलाई प्रादेशिक राजधानी नबनाएसम्म आन्दोलन जारी रहन्छ ।संघर्ष समितिका संयोजक सुरेन्द्र चौधरीको अध्यक्षतामा बसेको बैठकले रिले अनशनलाई निरन्तरता दिँदै थप आन्दोलनका कार्यक्रम पारित गरेको थियो ।
घण्टाघरमा आयोजित समारोहमा भोजपुरी गायक सुनिल पण्डित, नेपाली निरहुवा, आरजे दिनानाथ साह लगायत स्थानिय कलाकारले साँस्कृतिक कार्यक्रम तथा कालाकारिता प्रदर्शन गरेका थिए ।

गएको माघ ३ गते को मंत्री परिषदको बैठकले जनकपुरलाई प्रदेश नं २ को अस्थायी राजधानी तोकेपछि झन् आन्दोलन चर्किएको हो ।

यद्यपी वीरगन्ज निवासी रहेका मुख्यमंत्री लालबावु राउतले बार्ताबाट समस्या समाधान गर्न सकिने बताएका छन् । प्रदेश सरकार र आन्दोलनकारीबीच बार्ता भएपनि त्यो असफल भएको छ तर बार्ता फेरि हुने दुबै पक्षले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्