पूर्वाधार विकासमा लगानी गर्न निजी क्षेत्रलाई अर्थमन्त्रीकाे आह्वान

0
Shares

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले पूर्वाधार विकासमा लगानी गर्न निजी क्षेत्रलाई आह्वान गरेका छन् ।

अर्थमन्त्री खतिवडाले सरकार लगानी मैत्री वातावरण बनाउन प्रतिवद्ध रहेको पनि स्पष्ट पारे । आफूलाई बधाई दिन मंगलबार अर्थ मन्त्रालय पुगेका नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँगको सामूहिक भेटमा उनले पूर्वाधार विकासका लागि तत्काल ६ खरव बजेट अभाव हुने भन्दै त्यसलाई पूर्ति गर्न निजी क्षेत्रले सहयोग गर्ने विश्वास समेत व्यक्त गरे । अर्थमन्त्री खतिवडाले लगानीका लागि आवश्यक ऐन, नियम तत्काल संशोधन गर्ने आश्वासन पनि दिएका छन् ।

अर्थमन्त्री खतिवडाले व्यापारलाई उत्पादनसँग जोडेर अघि बढने घोषणा पनि गरेका छन् । उनले वर्षमा ५ लाखलाई रोजगारी दिने गरी सरकारले काम गर्ने दावी समेत गरे । अर्थमन्त्री खतिवडाले सरकारले रोजगारी उत्पादन हुनेगरी मुलुकलाई औद्योगिकरणको दिशामा लैजाने योजना पनि अघि सारेका छन् ।

भेटमा महासंघकी अध्यक्ष भवानी राणाले मुलुकलाई समृद्ध बनाउन सरकारलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् । मुलुकमा उत्पादन बढाएर रोजगारीको अवसर
सृजना हुने गरी सरकारसँग सहकार्य गरेर अघि बढन निजी क्षेत्र तयार रहेको उनको भनाई थियो ।

महासंघले लगानी मैत्री वातावरणको अभावमा निजी क्षेत्रले खुलेर लगानी गर्न नसकेकोतर्फ पनि नवनियुक्त अर्थमन्त्री खतिवडाको ध्यानाकर्षण गराएको थियो ।